काठमाडौं । आजभन्दा १३ वर्षअघि क्यानेडियन चर्चित गायक ब्रायन एडम्सको कन्सर्टले नेपालमा ठूलो हलचल नै मच्चाएको थियो । कन्सर्ट हेर्न भारतसँगै अन्य देशबाटसमेत उनका फ्यानहरु नेपाल आएका थिए ।

उनको कन्सर्टलाई नेपालकै अहिलेसम्मकै ठूलो कन्सर्ट मानिन्छ । २० हजारभन्दा बढी दर्शकमाझ दशरथ रंगशालामा ब्रायनको सर्वाधिक धमाकेदार प्रस्तुति रह्यो । ब्रायन कन्सर्टमा दर्शकदीर्घामा साक्षी थिए नेपाली चर्चित लोकरक ब्याण्ड नेपथ्यका अमृत गुरुङ ।

‘पूर्णिमाको रात थियो त्यो दिन । रात बडो उज्यालो थियो । त्यो साझ गज्जब रमाइलो थियो । एउटा अन्तर्राष्ट्रिय कलाकारलाई पाउँदा त हामी संगीतकर्मीहरु हर्षले गदगद भएका थियौं,’ गायक गुरुङले त्यो दिनको सम्झना गर्दै सुनाए ।

‘उनि जस्तो अन्तर्राष्ट्रिय कलाकार, जसको  गीत सुन्दै हुर्केको मान्छे म । कलेज पढ्दा खुब सुनिथ्यो । उनिजस्तो कलाकार नेपाल आउँदा कन्सर्ट छुटाउने त कुरै भएन । हाम्रो ब्याण्ड नै कन्सर्ट हेर्न गएका थियौं,’ उनले अघि भने, ‘नेपालका विभिन्न ठाउँहरुबाट मान्छेहरू आएका थिए । एकदमै गजब कार्यक्रम भो । त्योभन्दा पनि महत्वपूर्ण के थियो भने भविष्यमा फेरि अरुपनि यस्तै कलाकारहरु आओस भन्ने हाम्रो कामना थियो।’

आज उनै ब्रायन एडम्सको देशमा नेपाली चर्चित लोकरक ब्याण्ड नेपथ्यले पाइला टेकिसकेको छ । क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा हुने कन्सर्टका लागि १४ जनाको जम्बो टोली बिहीबार क्यानाडा पुगिसकेको हो ।

अक्टोबर ८ मा हुने  टोरन्टोको कन्सर्ट विश्वविख्यात ‘म्यासी हलमा’ हुनेछ । आयोजक ब्लु जेरियनका अनुसार अनुसार दुई घण्टाको प्रस्तुतिको लागि उक्त हलको भाडा खर्च मात्रै एक करोड रुपैयाँ रहेको छ । उनि विश्वविख्यात सांगीतिक समूहहरुले यसअघि कन्सर्ट गरिसकेका छन् । त्यही हलमा नेपथ्य गुञ्जने भएको छ ।

ब्रायन नेपाल आएको झल्को तपाईंले क्यानाडा गएर मेटाउँदै हुनुहुन्छ नि भन्ने प्रश्नमा गायक गुरुङले आँफूलाई भाग्यमानी कलाकार सम्झिए । क्यालगरी पुगेका उनले भने, ‘धेरै नै खुशी लाग्छ । आँफूले असाध्यै सम्मान गरिएका विश्व प्रसिद्घ कलाकारहरूले प्रस्तुत गरेको मञ्चमा आँफूले कार्यक्रम गर्न पाउँदा भाग्यमानी ठान्दछु।’

सबै तालमेलहरू मिलेपछि मात्रै अन्तर्राष्ट्रिय मञ्चहरुमा कार्यक्रम गर्ने सौभाग्य मिलेको गुरुङको भनाइ छ । ‘कलाकार आफू मात्रै राम्रो भएर पनि हुदैन। उत्कृष्ट भएर मात्र पनि नहुँदो रैछ। सबै चिज समयले जुर्नु पर्दोरहेछ,’ उनले सुनाए।

म्यासी हलको चर्चा 

विश्व प्रसिद्ध अंग्रेजी पप रक ब्याण्ड ‘टियर्स फर फियर्स’, चर्चित गायक जस्टिन बीबर, ब्रिटिस रक ब्याण्ड ‘क्रीम’, अमेरिकी गायक बब डिलन, बिली जोल, अग्रेजी रक ब्याण्ड ‘द किन्क्स’, जमर्नी ब्याण्ड क्राफ्टवेर्क लगायत थुप्रै चर्चित ब्याण्डले यसअघि ‘म्यासी हलमा’ प्रस्तुति दिइसकेका छन् ।

नेपथ्यको कन्सर्ट हुने सोही हलमा विश्व प्रसिद्ध व्यक्तिहरु विलियम बुथ, विन्स्टन चर्चिल, हेलेन केलर, थोमस मान र दलाई लामा लगायतले आफ्ना शुभचिन्तक तथा समर्थकहरुलाई सम्बोधन गरेका थिए।

झन्डै तीन हजार क्षमता रहेको उक्त ‘म्यासी हलमा’ नेपाली गीत संगीत गुञ्जन पाउनु आँफैमा ऎतिहासिक पल रहेको आयोजक ब्लु जेरियनका संयोजक दीपेन्द्र जंग केसीले बताएका छन्। ‘नेपथ्यले संसारका विभिन्न मुलुकहरुमा कार्यक्रम गरिसकेको तर क्यानाडामा अझैसम्म नगरेको स्थितिमा उहाँहरुको सम्मान स्वरूप पनि कार्यक्रम आयोजना गरिएको हो,’ केसीले भने, ‘क्यानाडामा रहेका दोस्रो पुस्ताका नेपालीहरुमाँझ म्यासी हल अन्त्यन्तै चर्चित ठाउँ हो। त्यस्तो ठाउँमा नेपाली संगीत पनि गुन्जने भनेपछि उनिहरुमा पनि छुट्टै उत्साह छाएको छ । जहाँ जस्टिन बीबरको कन्सर्ट हेरेका थिए त्यहाँ गएर नेपथ्यको प्रस्तुति हेर्न उनिहरु आतुर छन् ।’

नेपथ्यको कार्यक्रमबाट नेपाली भाषा,सस्कृति र संगीत प्रति उनीहरुको लगाव र उत्सुकता पनि बढ्ने केसीको ठम्याइ छ।

जैमिनी नगरपालिका बागलुङ मूल घर भएका दुर्गा पौडेलले नेपथ्यको कन्सर्ट हेर्न निकै उत्साहित छन्। एक दशकदेखि क्यानाडा बस्दै आएका पौडेलले नेपथ्यको लोक पप लय मनोमोहक लाग्ने बताउँछन्।  ‘म आँफैलाई पनि कला एकदमै मन पर्छ। भविष्य खोज्दै विदेश आयौं । पहिलेचाहिँ आँफू कसरी सेटल हुने भन्ने हुँदोरहेछ,’ उनले थपे, ‘त्यसपछि चाहिँ आफ्नो संस्कृतिलाई जोगाउ भन्ने चिन्ता पनि हुँदो रहेछ। नेपथ्यको कन्सर्टलाई लिएर हामी धेरै नै उत्साहित छौं।’

आँफूले टिकट लिएर अन्य साथीभाइहरुलाई पनि टिकट लिन प्रेरित गरेको पौडेलले बताए ।

गत वर्ष डिसेम्बरमा नारायणगढको क्याम्पा चौरमा नेपथ्यको लाइभ कन्सर्ट हेरेका भरतपुर चितवनका अनुज पौडेल निकै उत्साहित छन् । अध्ययनका लागि क्यानाडा पुगेका पौडेलले ठूलो संख्यामा आँफूजस्तै विद्यार्थीहरु पनि कन्सर्टमा सहभागी बन्ने सुनाए।

अमेरिकाबाट पनि सहभागिता 

जसरी ब्रायनको कन्सर्ट हेर्न भारतसँगै अन्य देशबाटसमेत उनका फ्यानहरु नेपाल आएका थिए । ठ्याक्कै त्यस्तै दृश्य नेपथ्यको कन्सर्टमा पनि देखिएको छ । क्यानाडाको छिमिकी मुलुक संयुक्त्त राज्य अमेरिकाबाट विभिन्न राज्यहरुबाट नेपालीहरु कन्सर्ट हेर्न टोरन्टो पुग्ने भएका छन् ।

अमेरिकाको टेक्सास राज्यको डालास सहरमा बस्दै आएका विजय दुलाल र महेन्द्र पौडलले पनि टोरन्टो जाने टिकट लिइसकेको बताए ।

‘हामी लगायत यहाँबाट ठुलो संख्यामा नेपालीहरु नेपथ्यको कन्सर्ट हेर्न क्यानाडा जादैछौं,’ पौडेलले भने । ‘सन् २०१८ मा अमेरिकामा भएको नेपथ्यको कन्सर्टमा सहभागी हुन नपाए पनि यसपालि साथीभाईहरुसँग टोरन्टो जादैछु। नेपथ्यको गीत संगीत सुन्दा जिऊमा काँडा उम्रन्छ।’

नेपथ्यबारे आलेख लेख्दै आएका स्तम्भकार मोहन बरालले विश्व प्रसिद्ध गायक एवम संगीतकारहरूकै मञ्चमा देख्दा नेपथ्य अन्तर्राष्ट्रियस्तरमा उक्लेको आभास हुने बताए .

मेरिकाको टेक्सासबाट कन्सर्टकै लागि टोरोन्टोमा जाने तयारीमा रहेका बराल भन्छन् , ‘बेलायतको वेम्ली एरिनादेखि,ओ टु एकडेमी ब्रिक्सटन,कोरियाको ‘कोरियन ब्रोडकास्टिङ सिस्टम एरेना’ (केबिएस), न्युयोर्कको म्यानहटन सेन्टर लगायतका विश्व प्रसिद्ध हलहरूमा प्रस्तुति दिइसकेको नेपथ्य अब म्यासी हलमा पुगेर अर्को ईटा थप्दैछ ।’

नेपालयको अगुवाइमा जहाँ कार्यक्रम गर्न गए पनि पूरा टिमसहित बाजागाजासहित पुग्नु, पूर्वनिर्धारित कार्यक्रमहरु भनिएको समयैमा सुरु गर्नु र टिम वर्कमा विश्वास गर्नु नेपथ्यको सफलता एवम निरन्तरताको कडी रहेको बराल बताउँछन् ।

‘नेपथ्यलाई मञ्चमा उतार्नु पनि आयोजकको सफलताको रूपमा हेरिन थालिएको छ । नेपथ्यलाई नेपालको सबैभन्दा महँगो र व्यावसायिक मामिलामा कुनै सम्झौता नगर्ने ब्याण्डको रूपमा चिनिन्छ,’ उनले भने, ‘उसको मापदण्ड अनुरूप नै मञ्चमा उतार्नु आयोजकले दर्शकहरूवाट ‘रेटिङ’ पाउनु हो ।’

नेपथ्यको ७ सय किलो सामान

नेपथ्यको कन्सर्टमा साउण्डको नियन्त्रण भने आफ्नै टेक्निकल टिमले लिने गरेको नेपालयका निर्देशक अर्पण शर्माले सुनाए । ‘ब्याण्ड मेम्बर जति जना छन् त्यो भन्दा बढी हाम्रा टेक्निकल मान्छेहरू हुन्छन नेपथ्यको कार्यक्रमसॅंगै त्यसको साउण्ड इन्जिनियर,मनिटर,अपरेटर, त्यसपछि लाईट अपरेटर, भिडियो इडिटर, क्यामारा लगायतका सामानहरू हामी बोकेर हिँडछौं,’ उनले भने।

ब्याण्डका ६ जना सदस्यहरुलाई स्टेजमा उभ्याउन प्राबिधिक र ब्यवस्थापक टिमका अन्य ८ जनाले  ठुलो मेहनत गर्ने गरेको शर्माले बताए । ‘विदेशमा सर सामान नपाईने भन्ने हैन । तर हामीले ७ सय किलो सामान बोकेर लिएर जान्छौं। यो ब्याण्डको आफ्नै सामान पनि हो । अर्को बेसिक टेक्निकल सामानहरू हुन्छन् । जसले गर्दा हाम्रा प्राविधिकलाई काम गर्न सजिलो हुन्छ ,’ उनले थपे, ‘तपाईंले स्टेजमा देखेको सम्पूर्ण कुरा।जस्तो लाईटको हिसाबले, साउण्डको हिसाबले जे सुन्नु हुन्छ। त्यो हलभित्रको जहाज हाम्रा प्राविधिकले उडाएर हामीले नै अवतरण गर्ने हो।’

सन् २००२ पछि नेपथ्यले १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । नेपालयले व्यवस्थापन सम्हालेपछि क्यानाडा नेपथ्यको १७ औं गन्तव्य हो । अघिल्लो महिनाको जापान यात्रामा सम्मिलित ८ जना प्राविधिक एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा पुगिसकेको छ ।

अक्टोबर १ मा क्यानडाको क्यालगरी सहरको द प्यालेस थिएटरबाट नेपथ्यले कन्सर्ट सुरु गर्दैछ । त्यसपछि अक्टोबर ४ मा भ्यानकुभरको ‘द भोग थिएटर’ र अक्टोबर ८ मा क्यानडाको प्रमुख सहर टोरन्टोस्थित ‘म्यासी हलमा धमाकेदार प्रस्तुति रहने छ ।  गायक गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

सन् २०२३ लाई नेपथ्यले ‘मानवताका लागि संगीत’ भन्ने सन्देशसहित विश्व यात्रा गरिरहेको छ । अष्ट्रेलियाका आठ स्थानहरू र जापानको प्रमुख तीन सहरहरूमा भव्य रूपमा नेपथ्य गुञ्जिसकेको छ ।