धुलाबारी । देशमा परेको प्राकृतिक विपत्ति तथा कठिन परिस्थितिमा राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मेचीनगर–१० स्थित धुलाबारी माध्यमिक विद्यालय परिवारले १ लाख ३१ हजार ४५० रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयको बिहानी तथा दिवा सत्रमा अध्ययनरत विद्यार्थीहरूले क्याप्टेन ग्रुपको सक्रियतामा संकलन गरेको ४६ हजार ४५० रुपैयाँ र दुवै सत्रमा निजी स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले संकलन गरेको ८५ हजार रुपैयाँ गरी कुल १ लाख ३१ हजार ४५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

विद्यालय परिवारले उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, धुलाबारी शाखामार्फत कोषमा जम्मा गरेको विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले जानकारी दिए ।

चौलागाईंका अनुसार विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने भएकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई समेत सहयोग अभियानमा सहभागी गराइएको हो । विद्यार्थीहरूलाई पढाइसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए ।

धुलाबारी माध्यमिक विद्यालयले यसअघि पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहभागिता जनाउँदै आएको जनाएको छ । विद्यालयले विपद्, सामाजिक समस्या तथा मानवीय संकटका बेला सहयोग जुटाउने तथा समुदायसँग सहकार्य गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

यसपटक विद्यार्थीबाट संकलित रकमसँगै निजी स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीको योगदानसमेत जोडिएको हो । विद्यार्थीको क्याप्टेन ग्रुपको सक्रियतामा भएको संकलनले विद्यालयमा अध्ययनरत विद्यार्थीमा सामाजिक सेवाप्रतिको भावना विकास गर्नसमेत सहयोग पुगेको विद्यालयको भनाइ छ ।

यसैबीच, नेपाल सरकारबाट अनुदान प्राप्त गरी तलब–भत्ता प्राप्त गर्ने शिक्षक तथा कर्मचारीबाट भने नेपाल शिक्षक महासंघले जारी गरेको सर्कुलरबमोजिम सहयोग रकम हस्तान्तरण गरिने विद्यालयले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहायक प्रधानाध्यापक चौलागाईंले बताए ।