चारआली । विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि चारआलीस्थित पाउँ पाथीभरा धाम समितिले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
झापाको मेचीनगर–१३ चारआलीस्थित पाउँ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समितिले उक्त रकम सहयोग गरेको हो । समितिका अध्यक्ष लोकराज ढकालले विपद्का बेला बाढीपीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले समितिको तर्फबाट उक्त रकम सहयोग गरिएको जानकारी दिए । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनसँगै समितिले सामाजिक उत्तरदायित्वका कामलाई समेत अघि बढाउँदै आएको अध्यक्ष ढकालले बताए । उनका अनुसार समितिले धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको पाउँ पाथीभरा क्षेत्रको संरक्षण, विकास तथा प्रचारप्रसारमा काम गर्दै आएको छ ।
२०७९ सालमा स्थापना पाउँ पाथीभरा धाम समितिले यसअघि पनि पाथीभरा क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन विभिन्न सामाजिक तथा पर्यटन प्रवर्द्धनका गतिविधिमा सहकार्य गर्दै आएको छ ।























































