मेचीनगर । अध्ययनसँगै विद्यार्थीलाई स्वाबलम्बी बनाउने उद्देश्यले झापाको मेचीनगर-१० काे इस्ट होइराइजन अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीलाई `बुकलेस´सहित सीपमुलक बिधीबाट पठनपाठन गराउँदै आएको बताएको छ । कक्षा नर्सरीदेखि २ कक्षा सम्मका विद्यार्थीलाई `बुकलेस´ बिधीबाट पठनपाठन गर्दै आएको ‘बसन्त उत्सव’को अवसरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

घोकन्ते पद्धति भन्दा प्रयोगात्मक बिधिबाट दैनिक जीवनमा प्रयोग हुने सामाग्री उत्पादनदेखि सीपमुलुक सिकाईपछि सीपलाई विद्यालय बाह्यय सामाजिक सेवामा समर्पित गरेको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

आफ्नो विद्यालयको प्रयोगात्मक सामाग्रीको प्रर्दशनी र जानकारी गराउने उद्देश्यले आगामी फागुन २६ र २७ गते ‘बसन्त उत्सव’को आयोजना गरिएको प्रिन्सिपल राईले बताए ।  उत्सव विद्यालयकै परिसरमा आयोजना हुनेछ।  कक्षा ५ देखि १२ सम्मका विद्यार्थीले उत्पादन गरेका सामाग्रीको प्रदर्शनी गरिनेछ ।

बुढापाकाले परम्परागत रुपमा बनाएको सीप मुलक सामग्रीसहित बजार, मेला र संस्कृतिसँग नयाँ पुस्तालाई प्रत्यक्ष रुपमा अवगत गराउन बजारको अवधारणा ल्याइएको कार्यक्रमको कला शिक्षक छितेन लामाले जानकारी दिए ।

`वसन्त उत्सव´मा सिलाई बुनाई, लाइभ पेन्टिङ, कुलिनरी आर्टस, फोटोग्राफी, लाइभ म्यूजिक एन्ड डान्स, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लव, प्लम्बिङ, दुना टपरा, व्यूटिसियन, कराँतेलगायत २२ वटा महत्वपूर्ण विधाका कला प्रदर्शनी र बिक्री गरिने भएको छ । 

सामानको बिक्रीबाट आएको रकम विद्यार्थीले नै बुझ्ने जनाइएको छ । विद्यालयकी प्रशासन प्रमुख सावित्रा सापकोटाले घोकन्ते शिक्षाले विद्यार्थीमा सिर्जनात्मक ज्ञान र सीप  नबढ्ने भएकाले विद्यालयले प्रयोगात्मक र व्यावहारिक शिक्षामा जोड दिँदै आएको  बताइन् ।

स्कुलमा विद्यार्थीहरुले सिकेको ज्ञानलाई अभिभावक र समाजसम्म पुर्याउन यो मेला `बसन्त उत्सव´ फलदायी हुने कक्षा १० की छात्रा स्नेह गिरीले बताइन् ।

बच्चाले पढ्ने पुस्तक आफैले बनाउने योजना नै ल्याएको शिक्षक विकास ग्वालले बताए । उनका अनुसार अध्यात्मिक बिषयमा जानकारीसहित बसन्त उत्सवले स्थानीय धर्म, जातजाति, संस्कृति, पर्यटनलाई महत्व दिइएको छ ।

विद्यालयका शिक्षक महेश खड्काले विद्यार्थीभित्रको अतिरिक्त प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नर्सरीदेखि कक्षा २ सम्म बुकलेस पठनपाठन सुरु गरिएको जानकारी दिए ।