झापा । किशोर–किशोरीको उमेर, अवस्था तथा उनीहरूमा आउने शारीरिक, मानसिक र बौद्धिक परिवर्तनलाई अभिभावकले बुझेर समयअनुकूल व्यवहार गर्नुपर्नेमा जोड दिनुपर्ने बताइएको छ। झापाको धुलाबारी माविद्धारा आयोजित किशोर–किशोरीका लागि अभिभावकलाई शिक्षा विषयक एक दिवसीय गोष्ठीमा किशोर–किशोरीको व्यवहार, स्वभाव र आचरणमा आउने परिवर्तनलाई भविष्य उज्ज्वल बनाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने सहजकर्ताले स्पष्ट पारेका थिए ।
गोष्ठीमा किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा बौद्धिक परिवर्तन, उनीहरूको मनोविज्ञान, व्यवहारमा देखिने फरकपन र अभिभावकले अपनाउनुपर्ने व्यवहारका विषयमा माविका शिक्षक रमेश दाहालले डिजिटल बोर्डमार्फत सहभागी अभिभाकहरुलाई स्पष्ट पारेका हुन् ।किशोर–किशोरीले देखाउने जिज्ञासा, रिस, एकान्त बस्ने चाहना, साथीहरूसँग बढी समय बिताउने प्रवृत्तिलगायतका व्यवहारलाई अभिभावकले केवल अनुशासनहीनताका रूपमा लिन नहुनेमा जोड दिइएको थियो। उनीहरूको कुरा सुन्ने, समस्या बुझ्ने, आवश्यक सुझाव दिने तथा विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो ।
उनीहरुलाई बढ्दो मोवाइलको प्रयोग, शिर्जनात्मक भन्दा बढी घुमडुल गर्न मनपराउने, अभिभावकभन्दा बढी साथीभाईसँग आफुना ससाना कुरा शेयर गर्न रुचाउने भएकाले किशोर किशोरीलाई साथीसरह भावना बुझेर अघी बढ्न सके उनीहरुको शिक्षासहित अन्य विद्या सफलता हासिल गर्न सक्ने सहजीकरण गरिएको थियो । सहजीकरण गर्दै शिक्षक दाहालले किशोर–किशोरीसँग अभिभावकले साथीको जस्तो व्यवहार गर्दै उनीहरूका भावना र आवश्यकतालाई सम्मान गर्नुपर्ने, गाली, डर र दबाबभन्दा सम्मान, प्रोत्साहन, सहिष्णुता र सकारात्मक संवादबाट नै उनीहरुलाई सुधार गर्ने प्रभावकारी अस्त्र हुने उल्लेख गरे।
गोष्ठीले किशोर–किशोरीको बदलिँदो अवस्था बुझ्न तथा उनीहरूसँग अभिभावकको सम्बन्ध अझ सकारात्मक बनाउन गाली, तुलना र असफलताप्रतिको डरले उनीहरूको आत्मविश्वास कमजोर हुनुका साथै पढाइप्रति रुचि घट्ने र शिक्षामा कमजोरी देखिन सक्नेमा समेत सचेत गराइएको थियो।
यस्तो अवस्थामा परिवारबाट आवश्यक साथ, प्रोत्साहन र सकारात्मक वातावरण नपाउँदा कतिपय किशोर–किशोरी गलत संगत तथा कुलततर्फ समेत आकर्षित हुन सक्ने भएकाले अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो। किशोर–किशोरीको मनोविज्ञान बुझेर उनीहरूले व्यक्त गर्न खोजेको आशय, समस्या र भावनालाई धैर्यपूर्वक सुन्न तथा तत्काल निष्कर्ष निकालेर दण्ड वा दबाब दिनुभन्दा संवादमार्फत समाधान खोज्न आग्रह गरिएको थियो। उनीहरूको रुचि, क्षमता र चाहनालाई सम्मान गर्दै सिकाइमा प्रोत्साहन गर्ने र सही बाटो देखाउने वातावरण बनाउन सके भविष्यमा आत्मविश्वासी र जिम्मेवार नागरिकका रूपमा विकास गर्न सकिने बताइएको थियो।
गोष्ठीमा अभिभावकले आफ्ना किशोर–किशोरीका व्यवहार र समस्याबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा करिब दुई सय जना अभिभावकको सहभागिता रहेको ऐश्वर्य मैलानी कडरियाको अध्यक्षतमा सम्पन्न गोष्ठीमा शिक्षक चेतन निरौलाले सहजकर्तालाई प्राविधिक रुपमा सहयोग पुर्याएका थिए ।





