मेचीनगर । झापाको धुलाबारी महोत्सवमा मंगलबार साझ चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने जनाइएको छ । सोमबार साझ चर्चित र्यापर आषिस राना `लाहुरे´ ले बेजोड साङ्गीतिक प्रस्तुति गरिसकेका छन् ।
मेची चेम्बर अफ कमर्सको आयोजनामा गत असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १९औँ दिन नेपाली सांगीतिक क्षेत्रकी गायिका मगरको मंगलबार साँझ दमदार प्रस्तुती रहनेछ ।
उनले आँफूले बजारमा ल्याएका नयाँ चर्चित गीतहरु गाउँने छिन् । छोटो सारी, साढे गोरु, जताततै मखमली फुल्यो, ढाडे बिरालो, उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना लगायत आधा दर्जन गीतहरु गाउने भएको मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले बताए । धुलाबारी महोत्सवमा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुतिले दर्शकहरुको भीड बढ्न थालेको आयोजकको भनाई छ ।
यसअघि महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक शिव परियार, प्रमोद खरेल, माइला, महेश काफ्ले, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले वेजोड प्रस्तुति दिइरहेका छन् । महोत्सवमा केहि दिनपछि मुन्द्रे व्याण्डको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।



















































