इलाम । इलामको सूर्योदय नगरपालिका–३ जिल गाउँमा अहिले बिहान आगलागी हुँदा एक घरसहित भित्र रहेका सामान तथा छिमेकीको एउटा गाडी जलेर पूर्ण रूपमा नष्ट भएको छ । प्रहरीका अनुसार बिहान करिब २ः३० बजे स्थानीय सन्तुलाल तामाङको पक्की पिलर,काठ र टिनको छानो भएको एकतले सुत्ने घरमा आगलागी भएको हो । भान्सा घरबाट आगो लागेको प्रारम्भिक जानकारी भए पनि आगलागीको यकिन कारण खुल्न सकेको छैन ।
आगलागीबारे बिहान ३ः५० बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी प्राप्त भएपछि निरीक्षक प्रविण जोशीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरी, सूर्योदय नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान ४ः५० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट तामाङको घर तथा घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । साथै,छिमेकी पासाङ तामाङले घर अगाडि पार्किङ गरी राखेको प्रदेश १–०१–००२ च १३९३ नम्बरको डबल क्याप गाडीसमेत पूर्णरूपमा जलेर नष्ट भएको छ।
घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ ।





