झापा । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् । शनिबार भएको मतदानको मत परिणाम आइतबार सार्वजनिक भएको हो  । 

मत परिणाम अनुसार २१ हजार ९८४ मत प्राप्त गर्दै दुईजना प्रतिस्पर्धीलाई उछिन्दै खतिवडा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धिद्वय उपेन्द्रप्रसाद ओलीले ७३९७ मत प्राप्त गरे भने अर्का अध्यक्षका प्रत्यासी भरतकुमार गिरी ४२६३ मत प्राप्त गरेका छन् । 

त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा १८ हजार ९३९ मत प्राप्त गर्दै नेत्रबहादुर नेपाल विजयी भएका छन् । उनका प्रत्यासीहरु टेकनाथ खनाल (टंक) ले ४ हजार ७९९, हेमराज गिरीले ४०९५ र ज्ञानुनाथ मैनालीले ५ हजार ६२७ मत प्राप्त गरे । महिला उपाध्यक्ष पदमा पार्वता भारती गिरीले २० हजार ०८१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने उनका प्रत्यासि खीनमाया बस्नेतले ५ हजार ५१०, गुहेश्वरी बुढाथोकीले ३ हजार ५८६ र सुश्री हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गरेका छन् । 

त्यस्तै कोषध्यक्षा पदमा १९ हजार ५६३ मत प्राप्त गर्दै लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छन् भने उनको प्रत्यासी भीमबहादुर गिरी ७ हजार ४३ मत र भोला धितालले ६२४२ मत प्राप्त गरे । समितिको खुल्ला सदस्यमा १६ जनाको उम्मेद्वारी रहेकोमा नारायणप्रसाद गिरीले ११ हजार ८१६, मदनराज कटुवालले १२ हजार ८२७ र रमेश सेडाईले ९ हजार ४२५ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव दिनेशबहादुर निरौलाले जानकारी दिए । 

त्यसैगरी महिला सदस्यमा राधिका चुडाल (हुमागाई) १२ हजार ०४२ मत र शिखा खड्का १३ हजार ०४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । महिला सदस्यका लागि सात जना चुनावी मैदानमा उत्रिएका थिए । यस्तै, लेखा सुरपरिवेक्षण समिति संयोजकमा डम्बर देउजा निर्वाचित भएका छन् । उनले १९ हजार ५७० मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार शंकर सुवेदीले ११ हजार ६५९ मत प्राप्त गरेका हुन् । त्यसैगरी लेखा सुरपरिवेक्षण समितिको सदस्यमा बबिता घिमिरे १७२२७ मत र सुनिल कार्की १५ हजार ४८८ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा रहेको सहारा नेपालको ६ वटा जिल्ला कार्यक्षेत्र रहेको छ भने एक लाख ९७ हजार ५५२ जना मतदाता रहेका थिए । ८० वटा केन्द्र मार्फत सेवा दिइरहेको संस्थामा १२ पदका लागि ४५ जना चुनावी मैदानमा उत्रिएका थिए ।