ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा बिजुली सर्ट भएर आगलागी हुँदा १० वटा घर जलेर क्षति पुगेको छ । बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगलागी सुरु भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार ७ घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् भने अन्य तीन घरमा पनि आगोले ठूलो क्षति पुर्‍याएको छ । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । यस बजारमा करिब ५० घर छन् । ‘आगो अब नियन्त्रणउन्मुख छ । समयमै दमकल र सुरक्षाकर्मी पुग्नाले थप क्षति नहुने अवस्थामा पुगेको छ’ उनले भने । थप क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको छ ।