झापा । पाँच महिनायता प्रक्रिया पुगेर पनि हटाउन नसकेको विद्युतीय पोलबारेमा प्रमुख जिल्ला अधिकारीकहाँ गुनासो पुगेपछि तत्काल सामाधान खोजिएको छ । दुर्घटना हुनबाट बच्न घरको आँगनमा रहेको विद्युतको पोल हटाउने प्रयासको गुनासो पुगेपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलले तत्काल सामाधान गरिदिएका हुन् । झापा मेचीनगर-१४ का लोकराज ढकाले आफ्नो घरको आगनमा रहेको विद्युतको पोल हटाउन पाँच महिनादेखि आवश्यक प्रक्रिया पूरा गरेका थिए ।
विद्युत प्राधिकरणको नियम पूरा गर्दै विराटनगर पुगेर फाइल स्वीकृत गराएको र विद्युत् कार्यालयलाई बुझाउनुपर्ने रकमसमेत बुझाइसकेको भए पनि धुलाबारी प्राधिकरण सेवा केन्द्रले आलटाल गर्दै लामो समयसम्म सेवा दिन सकेको थिएन ।
समस्याबारे सेवा केन्द्र कार्यालयका हाकिम तथा इन्जिनियरलाई पटकपटक फोन तथा वाट्सएपमार्फत सम्पर्क गर्नुका साथै दर्जनौँ पटक प्रत्यक्ष भेटेर अनुरोध गर्दा पनि अन्य कारण देखाउँदै काम नभएको ढकालले जानकारी दिए ।
पाँच महिनादेखिका सबै कागजातसहित ढकालले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष गुनासो राखेपछि विद्युत् पोल हटाउने काम तत्कालै भएको उनको भनाई छ ।
जनताका समस्या समाधान गर्न प्रजिअले खोलेको भुमिका तथा उनको कार्यशैलीप्रति प्रशंसा गरेका छन् ।
झापामा प्रमुख जिल्ला अधिकारी भएर आएपछि पोखरेलले जिल्ला प्रशासन कार्यालय र मातहतका कार्यालयमा रहेका पुराना तथा बाँकी कामसमेत बिदाको दिन कर्मचारी बोलाएर अघि बढाउन निर्देशन दिएका छन् । सर्वसाधारणको गर्नैपर्ने नियमअनुसार मिल्ने काम सोही दिन सम्पन्न गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।





