काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म ९५ जनाको शव फेला परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अुनसार साँझ ७ बजेसम्म विभिन्न स्थानमा गरी ९५ जनाको शव फेला परेको हो । उनीहरुको पहिचान भने हुन सकेको छैन । आइतबार बिहान ८ः४० बजे भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । त्यसैगरी प्रभावित क्षेत्रमा ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटकहरू सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रका विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कबिहीन भएको पनि प्रधानमन्त्रीको कार्यालय जनाएको छ । रसुवागढी भन्सार कार्यालय र अध्यागमन कार्यालयलगायतका केही कर्मचारी पनि सम्पर्कविहीन छन् । सम्पर्कविहीन कर्मचारीको संख्या अझै यकिन हुन सकेको छैन । बाढीले १९ वटा मोटरेबल पुल र ४० किलोमिटर सडक बगाएको छ । सरकारले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन जारी रहेको पनि जनाएको छ । बाढीको असर रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोर्खा र पूर्वी नवलपरासी गरी ७ जिल्लामा परेको छ ।