मेचीनगर । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारी सोमनाथ उप्रेतीमाथि कुटपिट गर्ने व्यवसायी शम्भु राजवंशी पक्राउ परेका छन् ।विद्युत प्राधिकरण धुलाबारी कार्यालयका कर्मचारी सोमनाथ उप्रेतीमाथि कार्यालयमै कुटपिट घटनालाई लिएर राजवंशीलाई  इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको हो ।

घटनाको वास्तविकता यस्तो छः 
मेचीनगुर-१० का कृषक कृष्ण मगरले यो पटक मेचीनगरपालिकाद्धारा कृषि प्रोत्साहनको कृषि बोरि गाडेका थिए । सबै प्रकृया पूरा गरेर बोरिबाट पानी निक्लियो पनि । तर, नगरपालिकाले सरकारी कागजात प्रयोग गर्दा पुष्टी गर्नुपर्ने भएकाले कृषि प्राविधिक बोरि स्पोटमा पुगेर पानी तान्ने भनेपछि हुक तार पुनः प्रयोग गरेर बोरिबाट पानी तान्ने कोशिस गरिएको थियो । Screenshot_20260813_230618_Facebook
उक्त नयाँ बोरिबाट पानी भनेजस्तै आएको पाएपछि सफल भएको भन्दै नगरपालिकाका कृषि शाखाका कर्मचारी फर्किएका थिए । कर्मचारी फर्किएको केही समयमा विद्युत प्राधिकरणका कर्मचारी पुगेर केरकार गरेका थिए । सो क्रममा कर्मचारीले हुकतार प्रयोग गरिएको भन्दै  तार, मोटर नियन्त्रणमा लिइनुका साथै  कृषक मगरको घरको मिटरमा जडित  तार समेत काटिदिएका थिए ।

उक्त विषयलाई लिएर छिमेकी शेखर ओली सागर र कृषक मगर विद्युत्त प्राधिकरण शाखा पुगेका थिए । उक्त व्यवहारिक पाटो बुझेका प्राधिकरण हाकिम शम्भुप्रसाद मण्डलले गल्ती भएको स्वीकार्दै एमाले मेचीनगरका सचिवसमेत रहेका ओली र कृषक मगरसमक्ष समस्या समाधान गर्न आग्रह गरेका थिए । यो घटना २०८३ असार २५ गतेको हो । उक्त विषयमाथि प्राधिकरण प्रमुखले नै जवाफदेही बन्ने भनेपछि कृषक र ओली घर फर्किएका थिए ।

साउन २८ गते आफ्ना बुवाआमाको विद्युत्त मिटरसहित कृषक मगरको विषयलाई लिएर प्राधिकरण सोधपुछ गरेका थिए । सोमनाथ उप्रेतीसँग बुझ्न भनेपछि टोली उप्रेती रहेको कोठामा पुगेका थिए । ओलीले सबै वृतन्त बताएपछि कर्मचारी उप्रेतीले मगरको नाउँमा जरिवाना भन्दै ७ हजार देखाएपछि ओलीले बास्तविकता बारे बुझाउन कोशिस गरेका थिए । सोही समयमा कर्मचारी उप्रेतीले आफु बसेको कुर्सी फाल्दै ओलीको कठालोमा समातेको शेखर सागर ओलीले बताए ।
कठालो समाएपछि आफुले सम्हालिन आग्रह गरेको ओलीले जानकारी दिए । ओलीको आग्रहलाई स्वीकार नगरी उप्रेतीले आवेगमा हातले प्रहार गरेको ओलीको भनाई छ । उप्रेतीको प्रहारपछि ओलीको दाहिने हातको माहिली र कान्छी औंलामा चोट पुगेको छ । ओली स्थानीय आम्दा अस्पताल धुलाबारीमा उपचारर्थ रहेका छन् । त्यसपछि प्राधिकरणले प्रहरीलाई खवर गरेर बोलाएको थियो ।

प्रहरी आएपछि कर्मचारीसहित प्राधिकरणका प्रमुख मण्डल पनि इलाका प्रहरी कार्यालय पुगेका थिए । उक्त समयमा प्रहरीसँग संवादकै क्रममा कार्यालयअघिको गेटमा ओली पक्षका युवाले प्राधिकरणका कर्मचारी उप्रेतीमाथि निर्घात कुटपिट गरेको विद्युत्त प्राधिकरण शाखा धुलाबारीका प्रमुख शम्भूप्रसाद मण्डलले जानकारी दिए । हाल ओलीसँग पुगेका एमाले मेचीनगर ११ का कार्यकर्ता शम्भू राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

युवाको कुटपिटपछि घाइते भएका प्राधिकरणका कर्मचारी उप्रेतीलाई उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड पुर्याएको प्रमुख मण्डलले जानकारी दिए । उनको आँखा  र टाउकोमा चोट पुगेको छ । अन्य कर्मचारीमाथि पनि एमालेका कार्यकर्ताले लछरपछार पारेका थिए । उनीहरुको अवस्था सामान्य छ । 

दिनरात जनसेवामा खटिदै आएका कर्मचारी सुरक्षित नभएको भन्दै कुटपिटमा संलग्न शेखर ओलीलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गर्ने प्राधिकरण कर्मचारीले जनाएका छन् । यस्तो खालको घटनाबाट कर्मचारी सुरक्षित नभएको प्रमुख मण्डलको भनाई छ । उक्त विषयलाई लिएर छलफलबाट निकास खोज्ने जिल्ला प्रहरी कार्यालयका प्रवत्ता रञ्जन आवले जानकारी दिए ।