काँकडभिट्टा । रिडर्स अभियान नेपालले 'रिडमीनार शृंखला' अन्तर्गत उपन्यासकार मिलन संग्रौलाको चर्चित उपन्यास 'बावऋ' माथि शनिबार काँकडभिट्टामा पाठक चर्चा गरेको छ।
भानु साहित्यिक प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रममा उपन्यासकार मिलन संग्रौलाले आफ्नो कृतिको सिर्जना प्रक्रिया, उपन्यासले उठाएका सामाजिक विषयवस्तु तथा साहित्यको भूमिकाबारे धारणा राखेका थिए । कार्यक्रममा भीमप्रसाद दाहाल र सन्देश प्रसाईंले उपन्यासमाथि टिप्पणी गर्दै 'बावऋ' ले समकालीन समाजका विविध पक्षलाई गहिरो रूपमा चित्रण गरेको बताए ।
कार्यक्रममा बोल्दै रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले पुस्तक पढ्ने संस्कृतिको विकाससँगै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै युवापुस्तालाई नियमित अध्ययनतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
त्यस्तै पुष्कर ढकाल, कनक कार्की (अध्यक्ष, मेचीनगर–५), रिता श्रेष्ठ (अध्यक्ष, मेचीनगर लेडी जेसीज), तीर्थ खरेल (प्राचार्य), डिल्लीराम घिमिरे (अध्यक्ष, भानु साहित्यिक प्रतिष्ठान) तथा साहित्यकार निरज कट्टेललगायतले साहित्यले समाजको यथार्थलाई उजागर गर्दै चेतना विस्तार र सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी, शिक्षक, लेखक, पाठक, श्रष्टा र पत्रकारको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले उपन्यासका विविध पक्षमाथि खुला छलफल गर्दै लेखकसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए।
रिडर्स अभियान नेपालले "पढौं, सोचौं, बदलौं" भन्ने मूल नारासहित नियमित रूपमा पुस्तक समीक्षा, पाठक चर्चा तथा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।





















































