झापा । भारत बिहार राज्यको दिगलबैंक किशनगञ्ज प्रहरी र एसएसबीले २३ लाख नेपाली रकमसहित एक जना लागूऔषध ठुलो कारोबारीलाई पक्राउ गरेको छ।दिगलबैंक प्रहरी चौकी क्षेत्रको मोहमारी खरवार टोल बस्ने शाहनवाज हुसेनलाई ८० ग्राम ब्राउन सुगर र २३ लाख ४७ हजार ९०० नेपाली रुपैयाँ र ३० हजार ५५० भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । एसएसबी र स्थानीय प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेको थियो । प्रहरीले अभियुक्त शाहनवाज हुसेनविरुद्ध भारतीय दण्डसंहिताको अन्तर्गत मुद्दा दर्ता गरेको छ। बरामद गरिएका सामानहरू जफत गरिएको भने हुसेनको सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको भारतीय प्रहरीले जनाएको सञ्चारमाध्यममा उल्लेख छ ।
खोजतलासका क्रममा, अभियुक्तबाट ६ वटा मोबाइल फोन र एउटा डिजिटल तराजु पनि बरामद भएको छ । अनुसन्धान एजेन्सीहरूले यो मुद्दा अन्तर्राष्ट्रिय तस्करी नेटवर्कसँग जोडिएको आशंका गरेका छन् ।प्रारम्भिक अनुसन्धानले अभियुक्तको नेपालमा सक्रिय तस्करहरूसँग सम्बन्ध हुन सक्ने देखाएको छ । प्रहरी अधिकारीहरूले डिजिटल प्रमाण र कल डिटेल रेकर्डको आधारमा थप कारबाही गरिने बताए । भारत–नेपाल सीमासँग जोडिएको किशनगंज जिल्लामा ब्राउन सुगर र अन्य लागूऔषधको तस्करी लामो समयदेखि सुरक्षा एजेन्सीहरूका लागि चुनौती बन्दै आएको छ।





















































