झापा । नवजात शिशु हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ वैशाख २ गते परिवर्तित वतन जिल्ला ०४–२४ परगना (ग) स्थित खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको थियो। घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पीडित युवतीले आफ्नै बाबुबाट जबर्जस्ती करणी भएको, त्यसबाट बच्चा जन्मिएको र बाबुको सल्लाहमा नवजात शिशुको शव गाडिएको प्रारम्भिक बयान दिएकी थिइन्।
त्यसपछि नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले फरार प्रतिवादीको खोजी थालेको थियो।
प्राविधिक अनुसन्धान तथा विशेष सूचनाका आधारमा फरार प्रतिवादीलाई असार ३ गते इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई झापा ल्याई थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार प्रतिवादीकी छोरीलाई समेत फेला पारेर नेपाल सरकारको संरक्षणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।




















































