झापालागूऔषधको ट्रान्जिट पोइन्ट बनेपछि जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहसँग सहकार्य गर्दै लागूऔषधविरुद्धको अभियान सुरु गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष आतिथ्यमा शुरु गरिएको सो अभियानको उद्घाटन भएको हो । बिर्तामोड नगरपालिकाको सहकार्यमा आयोजित उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, कन्काई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की र गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरकाे  आतिथ्यता रहेको थियो । 

तीन वटा रणनीतिसहित जिल्ला प्रहरी कार्यालयले शुरु गरेको लागूऔषधविरुद्ध झापा अभियानअन्तर्गत मुख्य गरेर पाँच प्रकारका कार्यक्रम गरिने भएको छ । पहिलो कार्यक्रम पोस्टरिङ रहेको छ । पोस्टरिङ क्याम्पियनअन्तर्गत पालिकाभित्रका सवै विद्यालयहरुमा टाँस्नका लागि जनप्रतिनिधिहरुलाई पोस्टर दिइने भएको छ । त्यस्तै दोस्रो कार्यक्रम टीच द टिचर्स रहेको छ । विद्यार्थीहरुलाई सचेत बनाउने कडी शिक्षकहरु भएकाले लागूऔषधविरुद्ध सचेतना जगाउन शिक्षकहरुको सहयोग लिइने भएको छ । लागूऔषधविरुद्धको कक्षा संचालन गर्न १५० जना शिक्षकलाई तालिम दिई खटाइने भएको छ । 

तेस्रो कार्यक्रम फुटबल पार्टनरसीप रहेको छ । युवा लक्षित त्यस कार्यक्रमअन्तर्गत पाँचवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइने भएको छ । चौथो कार्यक्रमलाई जान क्लब नाम दिइएको छ । त्यसअन्तर्गत राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाजको सहयोग लिइने भएको छ ।७१ वटा प्रहरी इकाईमार्फत समुदाय स्तरीय क्लब गठन, सूचना आदान प्रदान र उत्कृष्ट क्लबलाई सम्मान गरिने छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लागूऔषधको समस्या नियन्त्रण गरेर होइन, सहकार्य गरेर न्यूनीकरण गर्न सकिने भन्दै जिल्लामा लागूऔषधको अबस्थाबारे जानकारी दिएकी थिइन् ।लागूऔषधको सबैभन्दा बढी भारतको जिल्ला जोडिएका पुर्बी नेपालका जिल्लाहरु मेचीनगर, भद्रपुर, बिर्तामोड र दमक रहेका बताइएको छ ।लागूऔषध ओसारपसारको घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिइदै कानुनी कार्वाही गर्दा जिल्ला कारागार झापामा झन्डै ६० प्रतिशतबढी कैदी रहेको जनाएको छ ।