मेचीनगर । पाँचतारे होटल निर्माण गर्दा कानूनी प्रक्रियासँगै स्थानीय युवाले उठाउँदै आएको विषयमाथि व्यवसायीले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार झापाको मेचीनगर-१४ स्थित प्रगति टोलमा रहेको नव दुर्गा मन्दिरमा सम्पन्न होटलका सञ्चालक, स्थानीय टोलका प्रतिनिधि र युवा अभियान नेपालका प्रतिनिधि सम्मिलित भेलामा व्यवसायीले युवाहरुले उठाउँदै आएको विषय पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । छलफलमा स्थानीयबासी र होटल सञ्चालकबीच पाँचवटा निर्णय समेत गरिएको छ । जसमा होटलको वातावरण प्रभाव मूल्याड्कन प्रतिवेदनमा उल्लेख भएको विषय पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, सार्वजनिक बाटोको निकाससहित हडिया खोला अतिक्रमण भएनभएका सातदिनभित्र समाधान गर्नुपर्ने, स्थानीयलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने, यातायात, ध्वनी प्रदूर्षणलाई उचित व्यवस्थापन गर्ने सहमति जनाएका थिए ।
त्यस्तै सडकवत्तीको उचित व्यवस्थापन गर्नुपर्ने, खानेपानीको धारा जडान गर्दा सहाभागिता जनाउनुपर्ने, सामुदायिक भवन निर्माणमा आर्थिक सहयोग गर्नुपर्ने, स्थानीयस्तरको कृषि उत्पादन होटलले खरिद गर्नुपर्र्ने, स्थानीयलाई रोजगारी प्रदान गर्नुपर्नेलगायतका विषयमा घनीभूत छलफल भएका थियो । सो क्रममा पाँचतारे होटल सञ्चालक रिसर्व मित्तलले उल्लेखित विषय पूरा गर्ने प्रतिबद्धता जनाउँदै निर्णयपत्रमा हस्ताक्षर गरेका छन् ।
छलफलमा सहभागी रोशन अधिकारी, दिवस भट्टराई, कुँवेर लामिछाने, जिवन प्रसाई, कृष्णकुमारी सुवेदी, तुलसीप्रसाद लामिछाने, मानबहादुर खड्का, इन्द्रबहाद्र अधिकारी, दिनेश खतिवडा, गुनिलाल राजवंशी, जयनन राजवंशीलगायतले युवा अभियान नेपालले उठाउँदै आएको विषय सकारात्मक रहेको भन्दै व्यवसायीको ध्यानाकर्षण गराएका थिए । छलफलमा सहभागी व्यवसायीको प्रतिनिधित्व गर्दै बद्री महतले बोलेका थिए ।
तीन महिनाअघिदेखि नेपालले होटल सुरु गर्दा पूरा गर्नुपर्ने कानूनी प्रक्रिया, मापदण्ड र सामाजिक उत्तरदायित्वका विषयमा व्यवसायीलाई ध्यानाकर्षण गराउँदै आएका थिए । मौखिक र लिखित रुपमा पटकपटक गरिएको ध्यानाकर्षणलाई उल्लड्घन गरेको भन्दै नेपालले जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, मेचीनगर पालिका, वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । ज्ञापनपत्रको आधारमा मेचीनगर-१४ वडा कार्यालयले कानूनी प्रक्रिया पूरा गर्न भन्दै तत्कालका लागि निर्माणको प्रक्रिया रोक्न सिफारिस दिएको थियो ।
दुईमहिनापछि व्यवसायीले कानूनी प्रक्रिया पूरा गरेनगरेको स्थानीयलाई जानकारी नै नदिई केहीदिनदेखि निर्माण सूचारु गर्दै आएको थियो । छलफलको माध्यमबाट व्यवसायीले समाधान नखोजेपछि युवा अभियान नेपालले स्थानीयबासीसँग हस्ताक्षर अभियान सुरु गरेको थियो । हस्ताक्षर अभियानपछि मेचीनगर पालिका र वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको थाहा पाएपछि व्यवसायीले छलफलको आयोजना गर्दै आफ्नो प्रतिबद्धता जाहेर गरेका हुन् । युवा अभियान नेपालका संयोजक पशुपति भट्टराईको अध्यक्षतामा सम्पन्न छलफलको सहजीकरण प्रकाश उप्रेतीले गरेका थिए ।




















































