काठमाडौँ । काठमाडौँका सुजन खनालले २५ लाख ४४ हजार १०० रुपैयाँ
गुमाएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर
ब्युरोले दुई जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर गरेको छ । प्रहरी
अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सप्तरीका २०
वर्षीय आकाशकुमार पासवान र सिरहाका २३ वर्षीय चन्देश्वर महतोलाई प्रतिवादी
बनाएर मुद्दा दायर गरेको छ । उनीहरू हाल फरार रहेका छन् । उनीहरूविरुद्ध
मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरअन्तर्गत मुद्दा चलाइएको छ ।
दोषी
ठहर भएमा उनीहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन
सक्छ । साथै, पीडितलाई पूरा क्षतिपूर्ति भराउन समेत माग गरिएको छ । अदालतले
फरार रहेका दुवै अभियुक्तलाई पक्राउ गर्न पुर्जी जारी गर्ने प्रक्रिया
अगाडि बढाएको छ ।
खाताबाट यसरी गायब भयो रकम
गत २९ जेठ २०८२ मा पीडित
खनालको मोबाइलमा THE _ALERT नामबाट एउटा सन्देश SMS आएको थियो
। जसमा लेखिएको थियो–तपाईंको कनेक्ट आईपीएस खाता सुरक्षाका कारण रोक्का
गरिएको छ, सुचारु गर्न यो लिंक https//rb.gy/04ul5m मा क्लिक गरी
विवरण भर्नुहोस् ।
उक्त सन्देशलाई आधिकारिक ठानेर खनालले लिंकमा
क्लिक गरी आफ्ना बैंकिङ विवरणहरू प्रविष्ट गरे । पछि शङ्का लागेर उनले
प्रक्रिया रद्द गरे पनि त्यतिन्जेल ह्याकरहरूले उनको कनेक्ट आईपीएसु मा
अनधिकृत पहुँच बनाइसकेका थिए ।
खनाल राति सुतिरहेको बेला ह्याकरहरूले
उनको दुईवटा बैंक खाताबाट रकम ट्रान्सफर गरे । राष्ट्रिय वाणिज्य बैंक र
नबिल बैंकबाट आकाशकुमार पासवानको नेपाल एसबीआई बैंकको खातामा सुरुमा
परीक्षणका लागि १०० र पछि पटक–पटक गरी ११ लाख ७४ हजार १०० रुपैयाँ पठाइयो
।
दोस्रो दिन जेठ ३१ को बिहान पुनः खनालको राष्ट्रिय वाणिज्य बैंकको
खाताबाट चन्देश्वर महतोको लक्ष्मी सनराइज बैंकको खातामा १३ लाख ७० हजार
रुपैयाँ सारियो । भोलिपल्ट बिहान मोबाइल खोल्दा मात्र खनालले आफ्नो खाताबाट
कुल २५ लाख ४४ हजार १०० रुपैयाँ चोरी भएको पत्तो पाएका थिए । रातोपाटीबाट




















































