मेचीनगर । मेचीनगरका विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकास (बालशिक्षक) हरूले आफ्ना सेवा–सुविधा, सामाजिक सुरक्षा तथा दरबन्दी व्यवस्थापनलगायतका ६ बुँदे माग अघि सार्दै आन्दोलनको सुरुआत गरेका छन्।
वर्षौंदेखि न्यून पारिश्रमिकमा काम गरेको महङ्गी वृद्धिसहित पारिश्रमिक बढाउन मागसहित आन्दोलित भएका हुन् ।विद्यालय कर्मचारी परिषद् मेचीनगर र बालशिक्षकहरूको संयुक्त पहलमा बिहीबार मेचीनगरको कार्यालय गेटमा आयोजित कोणसभामा उपप्रमुख मिना पोख्रेल उप्रेतीलाई ज्ञापनपत्र बुझाएका हुन् । बालशिक्षक मेचीनगरकी संयोजक भावना अधिकारीले मागहरुसहित ज्ञापनपत्र बाचन गरेकी थिइन् । मागहरूको तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन्। उनीहरूले विद्यालय कर्मचारीलाई निजामती कर्मचारीसरह तथा बालशिक्षकलाई प्राथमिक तहका शिक्षकसरह सेवा सुविधा उपलब्ध गराउन, सञ्चयकोष, सामाजिक सुरक्षा कोष, उपचार खर्च तथा सम्मानजनक अवकाश सुविधाको व्यवस्था गर्न माग गरेका छन्।कर्मचारी र बालशिक्षकको श्रम, योगदान र भविष्यप्रति राज्य संवेदनशील नभएको गुनासो गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको सेवा सुविधा वृद्धि गरे पनि विद्यालय कर्मचारी र बालशिक्षकका विषयमा सरकारले कुनै सम्बोधन नगरेको महासंघ मेचीनगरका अध्यक्ष होमराज ढकालले असन्तुष्ट व्यक्त गरेका थिए । उनले विद्यालय स्थापना कालदेखि निरन्तर सेवा गर्दै आए पनि न्यूनतम पारिश्रमिकको नाममा श्रम शोषण भइरहेको आरोप लगाएका थिए ।
मागपत्रमा विद्यालय कर्मचारी तथा बालशिक्षकको दरबन्दी, सेवा–सुविधा र तलब भत्तासम्बन्धी स्पष्ट कानुनी व्यवस्था स्थानीय शिक्षा ऐनमा समावेश गर्नुपर्ने, कर्मचारीलाई निजामती कर्मचारीसरह तथा बालशिक्षकलाई प्राथमिक तहका शिक्षकसरह सुविधा उपलब्ध गराउनुपर्ने माग गरिएको समेत गरिएको उल्लेख छ ।
त्यसैगरी आगामी आर्थिक वर्षको बजेटमै दरबन्दीअनुसार सेवा सुविधा व्यवस्था गर्न, सञ्चयकोषको व्यवस्था लागू गर्न, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, अवकाशपछि सञ्चित बिदा, बिरामी बिदा तथा उपचार खर्च उपलब्ध गराउन र ६० वर्ष उमेर पूरा गरी अवकाश हुने कर्मचारी तथा बालशिक्षकका लागि सम्मानजनक सेवा सुविधा सुनिश्चित गर्न माग गरिएको छ। यसै क्रममा मेचीनगरकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले शिक्षकको सेवा सुबिधा संघीय सरकारले प्रदान गर्दै आएकाले स्थानीय सरकार जवाफदेही नहुने बताइन् । उनले संघीय सरकारसँग शिक्षकको मागबारे सिफारिस गर्नमात्रै सक्ने बताएकी थिइन् ।
विद्यालय कर्मचारी परिषद्का अध्यक्ष विक्रम थापा र बालशिक्षक संयोजक भावना अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रको बोधार्थ नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख तथा नेपाल शिक्षक महासंघ मेचीनगरलाई दिइएको छ।
वर्षौंदेखि उठाउँदै आएका मागहरू सम्बोधन नभए वा बेवास्ता गरिए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने संकेत गरेका थिए । कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, नेपाल शिक्षक महासघ मेचीनगरका अध्यक्ष होमराज ढकाललगायतको उपस्थिती रहेको थियो ।



















































