दमक । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार दमकमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम भएको छ ।
जिल्लामा रहेको ११ वटा संघ–संगठनको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा प्रेस क्लब द्वितीय र प्रेस युनियन झापा शाखा तृतीय भएको छ । त्यसैगरी पर्यटन पत्रकार मञ्च झापा शाखा, प्रेस चौतारी झापा शाखा, प्रेस सेन्टर झापा शाखा, नारी सञ्चार गृह, मेचीनगर प्रेस क्लब, दमक प्रेस क्लब, सञ्चारीका समूह र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखा सान्त्वना घोषित भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टिमले नगद पुरस्कार क्रमश ११ हजार एक सय ११ रुपैयाँ, सात हजार सात सय ७७ रुपैयाँ, पाँच हजार पाँच सय ५५ रुपैयाँ र सान्तवना हुने आठ वटा टिमले जनही दुई हजार दुई सय २२ रुपैयाँसहित प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापाले प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापा र नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटीकी उपाध्यक्ष अम्बिका भण्डारीलगायतले पत्रकारको बौद्धिक क्षमता सुधार्नका लागि आयोजित प्रतियोगिता उपयोगी हुने बताएका थिए ।
दमक नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको क्वीज मास्टर शिक्षक बद्री कार्की र निर्णायकहरु बिमल लामिछाने, विष्णु सुब्बा र मञ्जु डाँगी रहेका थिए । पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजित यस किसिमको कार्यक्रमहरुलाई महासंघले आगामी दिनमा पनि निरन्तरता दिने महासंघको लक्ष्य रहेको शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
शाखाका अध्यक्ष गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुब्रत न्यौपानेले र धन्यवादसहित समापन मन्तव्य महिला उपाध्यक्ष बिनिसा गौतमले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजु पाठक र सह-सचिव तिलक योञ्जनले गरेका थिए ।





















































