झापा । झापाको भद्रपुर-१ स्थित ग्यालेक्सी इङ्लिस स्कूलले नगरमा रहेका स्कुलमध्ये एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शतप्रतिशत नतिजा ल्याउँदै ग्यालेक्सी स्कुलले भद्रपुर नगरकै पहिचान गरेको हो । विद्यालयबाट एसइई परीक्षामा सहभागी २३ जना सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । जसमध्ये आठ जनाले ३.६० भन्दामाथि जिपिए ल्याउन सफलता छन् । १४ जनाले ३.२० भन्दा माथि जिपिए प्राप्त गरे । एक जना विद्यार्थीले २.८० भन्दा माथिको जिपिए हासिल गरेको विद्यालयका सञ्चालक रौनक वंशलले जानकारी दिए । उनका अनुसार ग्यालेक्सी स्कुलले लगातार दोस्रो वर्ष पनि भद्रपुर नगरका विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । 

विद्यार्थीलाई पाठ्यक्रम, अतिरिक्त क्रिय आकलापका साथै उनिहरुको प्रतिभाको पहिचान गर्दै विद्यालयले खेलकुद, नृत्य, सङ्गीत, सिर्जनात्मक गतिविधि तथा विभिन्न अतिरिक्त क्रियाकलापलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ । फराकिला खेलमैदान, प्रशिक्षकसहितको खेल प्रशिक्षण, नृत्य–सङ्गीत कक्षा र बालमैत्री वातावरणले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता विकासमा सहयोग पुगेको उनले बताए । विद्यालयमा अनुभवी तथा दक्ष शिक्षकको टोली सक्रिय रहेको छ । दैनिक पठनपाठनको नियमित मूल्याङ्कन, प्रतिवेदन प्रणाली र सुधारमुखी अभ्यासमार्फत शिक्षणलाई थप प्रभावकारी बनाइएको विद्यालयले जनाएको छ । प्रत्येक दिनको शैक्षिक गतिविधिको समीक्षा गर्दै आगामी योजना निर्माण गर्ने पद्धतिले व्यवस्थापन पक्षलाई व्यवस्थित र उत्तरदायी बनाएको देखिन्छ ।

२०८१ सालदेखि कक्षा ११ को पठनपाठन सुरु गरेको विद्यालयले यस वर्ष पनि व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज विषयमा भर्ना खुला गरेको जनाएको छ । विद्यालयले विश्वस्तरीय शिक्षण मापदण्डअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित पूर्वाधार र शैक्षिक प्रणालीलाई थप विस्तार गरिरहेको जनाएको छ ।

विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पवित्रा ढकालले विद्यार्थीको चौतर्फी बिकासका लागि अभिभावक लगानी शिक्षकको मेहनतबाट सफलता सम्भब हुने बताइन् । विद्यालय व्यवस्थापन समितिका सदस्य रौनक वंशलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्लस टु प्राध्यापक देवीप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा विद्यालयका बाल क्लब अध्यक्ष सृजन तामाङ, सहायक प्रधानाध्यापक विवेक चम्लागाईं, प्लस टु प्राध्यापक कृष्णकुमार मैनाली तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । सञ्चालन विद्यालयका संयोजक लक्ष्मण नेपालले गरेका थिए ।