झापा । भारतसहित तेस्रो मुलुकबाट आयात हुने सुपारीका कारण स्वदेशी उत्पादनले बजार गुमाउँदै आउँदा किसान पीडित हुनुपरेको सुपारी उत्पादक किसान संघ नेपालले जनाएको छ । सुपारी बिचौलियाका कारण नेपालमा उत्पादित सुपारीमा बिदेशको कुहिँएको सुपारी मिसावट गर्दै गुणस्तर समेत घटाएको संघले बुधबार पत्रकारसमक्ष जानकारी गराएको हो । 

२०५८ सालदेखि सुपारी किसानको समस्या र सामाधानका उपायसहित संघीय, प्रदेश र स्थानीय सरकार तथा प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री र मेयरसमक्ष ध्यानाकर्षण गराउदै आएपनी समाधान भने नभएकाले पत्रकारसमक्ष आउनुपरेको सघका केन्द्रिय अध्यक्ष निलकण्ठ तिवारीले जानकारी दिए । सुपारी खेती देशभर फैलँदै जाँदा हजारौँ किसान प्रत्यक्ष रूपमा पेशामा संलग्न छन् भने ढुवानी, प्रशोधन र व्यापारमार्फत हजारौँलाई अप्रत्यक्ष रोजगारीसमेत सिर्जना भएकोसमेत अध्यक्ष तिवारीले जानकारी दिए ।

हाल करिब ११ हजार ९ सय हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको र वार्षिक करिब १ लाख ६५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने उल्लेख गरिएको छ। तर उत्पादन बढे पनि त्यसअनुसार बजार र मूल्य सुनिश्चित हुन नसक्दा किसानको आम्दानी वृद्धि हुन नसकेको उनले बताए ।

देशमा उत्पादित सुपारीले उचित बजार पाउन नसक्ने समस्या छ तर केही माफिया ब्यापारीले भारतलगायत तेस्रो मुलुकबाट गुणस्तरहिन सुपारी आयात गरेर नेपालमा उत्पादित सुपारीमा मिसावट गर्दै गुणस्तरहिन बनाएर पुनः निकासी गर्दै आएको आरोप संघका पदाधिकारीको छ । नेपालमा उत्पादन भएको सुपारी बिश्वबजारमा गुणस्तरीय मानिदै आएको छ । भारतसहित तेस्रो मुलुकमा धेरै मागसमेत भएकाले त्यसको गुणस्तर घटाउन बिचौलियाले मिसावट गरेर निर्यात गर्दै आएको संघका राम श्रेष्ठले बताए ।  
नेपालमा उत्पादन भएको सुपारीले नै बजार पाउन नसकिरहेको अवस्थामा बिदेशबाट ल्याउनु जरुरी नभएको सघका हरि चौलागाईंको भनाई छ । उनले सरकारलाई ध्यानाकर्षण गराउँदा समेत किसानको हितमा न्यायसम्बत काम नगर्दा सयौं किसान समस्यामा परेको चौलागाईंको भनाई छ । सुपारी खेती दीर्घकालीन लगानीमा आधारित भएकाले किसानले ०५-६ वर्षसम्म कुर्नुपर्ने अवस्था हुन्छ। उत्पादनपछि उचित मूल्य नपाउँदा लगानीसमेत उठाउन कठिन भइरहेको चौलागाईंको भनाई छ ।

नेपालमा सुपारी खेती विस्तार हुँदै गए पनि किसानले त्यसको प्रतिफल पाउन नसकेको, उत्पादन बढे पनि बजार अभाव, मूल्य अस्थिरता र नीतिगत अस्पष्टताले किसानहरू समस्यामा परेको संघका अध्यक्ष अध्यक्ष नीलकण्ठ तिवारीले जानकारी दिए । संघले देशका हजारौँ हेक्टर क्षेत्रमा सुपारी खेती भइरहेको र वार्षिक ठूलो परिमाणमा उत्पादन हुने भए पनि यसको प्रभावकारी बजारीकरण हुन नसकेको जनाएको छ । अझै पनि आधुनिक प्रशोधन उद्योग, भण्डारण र प्रविधिको अभावको समस्या थप जटिल बनाएको सुपारी किसानको भनाई  छ।