झापा । झापामा ७०.४५ प्रतिशत विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । एसइई २०८२ को नतिजा अनुसार झापा जिल्लामा १० हजार ८३० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ हजार ५४२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाको समग्र उत्तीर्ण प्रतिशत ७०.४५ रहेको हो । २९.५४ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्। यस वर्ष झापामा ४.०० जीपीए प्राप्त गर्ने १० सामुदायिक विद्यालयबाट १४ जना र २९ संस्थागत विद्यालयबाट ४२ जना विद्यार्थी रहेका छन् । कुल ५६ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।
ग्रेड अनुसारको विवरण हेर्दा ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या १ हजार ८११ जना अर्थात ११.७८ प्रतिशत रहेको छ। यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने ३ हजार ४२७ जना अर्थात २२.३० प्रतिशत, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ५४६ जना अर्थात २३ प्रतिशत, २.४० देखि २.८० जीपीए ल्याउने १हजार ८५५ जना अर्थात १२ प्रतिशत र २.०० देखि २.४० जीपीए ल्याउने १९१ जना अर्थात १.२५ प्रतिशत रहेका छन्। झापामा कुल १५ हजार ३७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
यता मेचीनगर-१० काे धुलाबारी मावि र मेचीनगर-१४ काे बाल सुवाेधनि माविका दुई जनाले ४ जीपिए ल्याएका हुन् । मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारीले धुलाबारी माविका सुमन राजबंशी र बाल सुवाेधनि माविका जेनिस भट्टराईले चार जीपिए ल्याएकाे जानकारी दिए । नगरका १८ वटा सामुदायिक विद्यालयका ९८८ जना सहभागी विद्यार्थीमध्ये ५४० जनाले कक्षान्नति गरेकाे उनले बताए । जसकाे प्रतिशतमा ५४ प्रतिशत रहेकाे छ । विद्यार्थी सहभागीमध्ये शतप्रतिशत कक्षान्नति हुने विद्यालय मेचीनगर-२ काे मेची जनसाधारण मावि रहेकाे भण्डारीले बताए ।


















































