बिर्तामोड । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले नागरिकलाई सूचनाकाे हकबाट बन्चित गराउन खाेज्नु निरंकुशता  भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाकाे बिर्तामोडमा आयोजित साधारण सभामा  प्रमुख अतिथि आचार्यको रुपमा सम्बोधन गर्दै आचार्यले यस्ताे बताएका हुन् ।

नागरिकलाई प्रजातन्त्रकाे उपभाेग गर्न नदिने रणनीति नै निरंकुश शासन लाद्न खाेजेकाे देखिएकाे छ । महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका आचार्यले प्रेस स्वतन्त्रतालाई खुम्चाउँन खाेज्नु, मिडियामा आर्थिक नाकाबन्दी गर्नु, सार्वजनिक सराेकारकाे विषयमा फाेटाे, भिडियो खिच्न नदिनु यसकाे जलन्त उदाहरण रहेकाे दावी गरे ।

उनले सरकारी सूचना सरकारी मिडियालाई मात्र दिने र निजी मिडियालाई गरेकाे विभेदकारी नीति तत्काल फिर्ता लिन माग गरेकाे छन् ।

उनले भने-´पत्रकारिता मार्फत जनतालाई दिने अधिकार खाेसिन्छ भने त्यसकाे जवाफ सडकबाट दिने छाैं । यस अघिका सरकार, राणा शासन र पञ्चायतलाई समेत जसरी मिडियाकाे अग्रतामा ढलाए, त्यही हालत हुनेछ ।`

कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारी, कृष्ण हुमागाई, महासंका काेशी प्रदेश अध्यक्ष भरतबहादुर खड्का, माेरंग महासंघकी अध्यक्ष शुसीला पाठक, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चाैतारीका झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर नेपालका झापा अध्यक्ष पुष्प खड्का लगायतले प्रेसलाई घाँटी निमाेट्ने काम भए देशभरका पत्रकारहरूले सडक तताउने चेतावनी दिएका छन् ।

राम्राे कामकाे खुलेर लेख्ने र गलत गरे भण्डाफाेर गरिने बक्ताहरूकाे भनाई छ । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भद्रपुर प्रेस क्लब, १२१ औं पटक सम्म रक्तदान गर्ने हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली, सञ्चारकर्मी पत्रकार रञ्जित परियार र लैङ्गिक पत्रकारितामा सक्रिय गृष्मा सापकोटालाई सम्मान गरिएको थियो ।

साेही अवसरमा महासंघले प्रकाशन गरेको ‘चौथो अङ्ग’ म्यागजिनको विमोचन समेत गरिएकाे थियाे । महासंघ झापाले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’लाई २ करोड पुर्‍याउने लक्ष्य रहेको झापा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

उनका अनुसार हाल कोषमा एक करोड २५ लाख रूपैया भन्दा बढी संकलन भइसकेको छ । महासंघ झापा अध्यक्ष गिरीले अध्यक्षतासहित वर्षभरि गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए । उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।