मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा निजी (संस्थागत) विद्यालयहरूलाई छात्रवृत्ति सम्बन्धी विवरण अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालय, इटाभट्टाबाट जारी सूचनाअनुसार शैक्षिक वर्ष २०८२ को नियमावली अनुसार १० प्रतिशत छात्रवृत्ति प्रदान गरिएका विद्यार्थीहरूको विवरण माग गरिएको हो। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २७ को उपदफा ३ र मेचीनगर नगरपालिकाको शिक्षा नियमावली २०८१ को नियम ५८ बमोजिम सबै विद्यालयले विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीद्वारा हस्ताक्षरित सूचनामा विद्यालय सञ्चालकलाई विद्यार्थीको नाम, कक्षा, अभिभावकको नाम र ठेगानासहितको विवरण मिति २०८३ बैसाख २१ गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिइएको छ। तोकिएको समयावधिभित्र विवरण नबुझाए कारबाही गरिने चेतावनी दिइएको छ। यहाँ सञ्चालित विद्यालयलाई विवरण पेश गर्न पटकपटक पत्रचार गरिसकिएको छ । हालसम्म आधाजतिले मात्रै विवरण पेश गरेको पाइएको छ, नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले भने, अब केहीदिनभित्र लागि विवरण पेश गर्न पत्रचार गरिएको छ । उक्त समयावधिसम्म विवरण पेश नगर्ने विद्यालयलाई विधिपूर्वक कारवाही गछौं ।
मेचीनगरमा ४२ वटा सामुदायिक र ४ वटा धार्मिक विद्यालय मा १२ देखि १३ हजार विद्यार्थी अध्ययनरत छन् भने ५८ वटा निजी तथा ९ वटा मन्टेश्वरी विद्यालयमा १९ देखि २० हजार विद्यार्थी अध्ययनरत रहेको मेचीनगर शिक्षा शाखा अधिकृत होमनाथ भण्डारीले जानकारी दिए । ती विद्यालयहरुमध्ये ८( १० वटा विद्यालयले विद्यार्थीको विवरण नबुझाएकै कारण अन्तिम पटक सूचना प्रकाशन गरिएको छ । बैसाख २१ गतेभित्र विवरण पेश नगर्ने विद्यालयलाई शिक्षा शाखाले कुनैपनि सिफारिस नगर्ने, कक्षा आठको परीक्षा रोक्नेसम्मको कारवाही हुने शिक्षा प्रमुख भण्डारीको भनाई छ ।
नगरपालिकाले छात्रवृत्ति विवरण सार्वजनिक गर्न दिएको निर्देशनलाई शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र लक्षित वर्गसम्म सेवा पुग्ने सुनिश्चित गर्ने प्रयासका रूपमा लिइएको छ।