झापा । स्कुटीमा लागूऔषध राखिदिएर युवालाई फसाउन खोज्न झापा मेचीनगर-१४ का एक जना ब्यवसायी एबम् पुर्व माओवादीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक स्थानमा अर्काको स्कुटिको डिकीभित्र लागूऔषध राखेर फसाउने योजना बुनेका प्रहरीको फरार सुचीमा रहेका मेचीनगर-१४ का नरेन्द्र मेचे (गछाम) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । मेचे ४ महिना २३ दिन फरारपछि गत २०८२ चैत २३ गते प्रहरीको नियन्त्रणमा आएका हुन् । घटनापछि फरार सुचीमा राखेर खोजतलास गरिरहेकोमा अभियुक्त आफै इलाका प्रहरी कार्यालय धुलाबारीमा सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचेलाई पक्राउ गरिनुको कारण यस्तो छः
गत २०८२ कार्तिक महिना अघि स्थानीय एक दलित महिलाले आफुलाई दूव्र्यवहार गरेको भन्दै प्रहरीकहाँ मुद्दा हाल्ने कोशिस गरेकी थिइन् । महिलाको विषयलाई लिएर उनका छोरा प्रशान्तले घटनाको विषयमा कडाई गरेका थिए । प्रहरीले सम्झाउँदै एक पटक छलफल गरेर किटानी जाहेरी दिन आग्रह गरेपछि घटनाका पीडक मेचेले माफी माग्दै पीडितलाई सहयोग गर्ने भनेपछि बाहिरबाटै मुद्दा किनार लगाएका थिए । सोही विषयलाई लिएर मेचेले इगो राख्दै प्रशान्त सेन्चुरीमाथिलाई फसाउने योजना बुन्छन् ।
२०८२ कार्तिक ३० गते दिउँसोको घटना हो । मेचीनगरका सेन्चुरीको स्कुटीमा एक्कसी लागूऔषध फेला परेपछि इलाका प्रहरी कार्यालय धुलाबारीले उनलाई नियन्त्रणमा लिएको थियो । उनको स्कुटीबाट प्रहरीले २१० ट्याब्लेट ट्रोमाडोल नामक लागूऔषध फेला पारेको थियो । प्रहरीको हिरासतमा रहेका सेन्चुरीले आफू उक्त लागूऔषध ओसारपसार र प्रयोगमा संलग्न नरहेको पटकपटक बयान दिएपछि प्रहरीले उनले राखेको स्कुटी आसपासमा रहेको घटनास्थलमा निगारानी गर्दै सिसि फुटेज निरीक्षण गरेका थिए । सिसि फुटेजमा नरेन्द्र मेचे (गछाम) ले आफ्नो गोजिबाट चाबी निकाल्दै स्कुटिको डिकिमा लागूऔषध राखिदिएको पाएपछि घटना मेचेतर्फ सोझिएको थियो ।
घटनाको वास्तविकता पत्ता लगाएपछि प्रहरीले मेचेलाई पक्राउ गर्न उनको घरमा पुगेर लागूऔषध खानतलासीसमेत गरेको थियो । आफुलाई समात्न प्रहरी आएको सुइँको पाएपछि मेचे भाग्ने क्रममा चप्पल हातमा बोकेर कुदेका थिए । फरार बनेका मेचेलाई प्रहरीले तीन दिन रातसम्म निगरानी बढाएको थियो । त्यसको दुईदिनपछि मेचे दम्पतीको तस्बिर आफ्नो वालमा राख्दै उनकी छोरीले अस्ट्रेलियासम्मको यात्रा शुभ रहोस् बुवाआमा लेखेर पोष्ट गरेकी थिइन् । तर, मेचे दम्पति भारतको मेघालयमा पुगेको श्रोतले बताएको छ ।
लागूऔषध ओसारपसारमा प्रहरीको नियन्त्रणमा रहेका सेन्चुरीलाई हाजिरी जमानिमा छोडेको प्रहरीले जनाएको छ भने प्रहरीले अनुसन्धान तीब्र बनाएको छ । यता आफ्नै कुकर्मका कारण प्रहरीको फरार सुचिमा रहेका मेचेलाई हाल प्रहरीले हिरासतमा राखेर अनुसन्धान तीब्र बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए । सेन्चुरीको स्कुटिमा राखेको लागूऔषध ट्रमाडोलका विषय शंकापद रहेको प्रहरीको अनुमान छ ।

उक्त लागूऔषध कहाँबाट, कसरी र कति मूल्यमा ल्याएको हो वा कारोबार गर्न ल्याएको हो भन्ने विषयमाथि अनुसन्धानलाई तीब्र  बनाएको प्रहरीको भनाई छ । मुद्दा अदालतसम्म पुगेको छ । समाजसेवाका क्षेत्रमा मेचेले विभिन्न संघसंस्था, खेलकुद प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग पुर्याउँदै आएका थिए भने घर जग्गा कारोबार गर्दा मेचेले झुटा विवरण पेश गरेको भनी आधा दर्जनबढी मुद्दा विचाराधिन अवस्थामा रहेको जनाइएको छ । लागूऔषध सम्बन्धी कसूर (ऐन, २०३३) ले लागूऔषध कसुर गरेको पुष्टी भएमा तीन वर्ष सजाय र तीस हजार जरीवाना दुवै हुने व्यवस्था रहेको लागूऔषध कसुरको सजाय निर्धारण सामान्य मार्गदशनमा उल्लेख छ ।