मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले यस वर्षको कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफ भएको छ । ३५ जना विद्यार्थी सतप्रतिशत उत्तीर्ण भएको विद्यालय प्रशासनले जनाएको छ । 

कक्षा ८ मा उत्कृष्ट नतिजापछि विद्यालयले आइतबार पत्रकार सम्मेलन गरी विद्यार्थी र विद्यालयको प्रगतिको बारेमा जानकारी गराएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल कमल भेटवालका अनुसार विद्यार्थीलाई नयाँ पद्धतिअनुसारको सिकाईका कारण स्कुलले यस्तो नतिजा निकाल्न सफल भएको बताए ।

सैद्धान्तिक वा घोकन्ते पढाइभन्दा व्यवहारिक र बुझाइमा आधारित शिक्षणविधिले विद्यार्थीले समग्र नतिजा दिन सफल भएका हुन् जसका लागि स्कुलले नानीहरुको स्वभाव बुझेर नै  हामीले सिकाइलाई प्राथमिकता दिएका छौँ-प्रिन्सिपल भेटवालले भने ।´

विद्यालयले कक्षा ५ सम्म ‘बुकलेस’ प्रणाली लागू गरेको छ । यस प्रणाली अन्तर्गत विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक, सिर्जनात्मक र सहभागितामूलक तरिकाले सिकाइ गराइन्छ । `विद्यार्थीको नतिजा नै झापा नेशनल स्कूलको सफलता हो´ प्रिन्सिपल भेटवालले भने, `विद्यार्थीमा आत्मविश्वास र समस्या समाधान गर्ने क्षमता विकास गर्न मद्दत पुर्याएको छ ।´

नेपाल सरकारले हालै कक्षा ५ सम्म परीक्षा नलिने नीति ल्याएको सन्दर्भमा उनले सकारात्मक प्रतिक्रिया जनाए । विद्यालयले यसअघि नै बुकलेस प्रणाली अपनाइसकेको उल्लेख गर्दै उनले सरकारको निर्णय र आफ्नो अभ्यासबीच समानता देखिएको बताए । ‘यो नीति सिकाइ केन्द्रित शिक्षालाई प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कदम हो,’ उनले भने ।

विद्यालयले शान्त, अनुशासित वातावरण र प्रविधिमैत्री शिक्षणलाई आफ्नो पहिचान बनाएको छ । यही कारण अभिभावकहरुको पहिलो रोजाइ बन्न सफल भएको विद्यालय प्रशासनको दाबी छ । आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा जोड दिँदै अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य विद्यालयले राखेको छ ।