झापा । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न भएको निर्वाचनबाट राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राउतले कुल मतको ६७ दशमलव ३७ प्रतिशत मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । घोषित मतपरिणाम अनुसार जिल्ला नगर संघतर्फको ३८ मध्ये राउतले २४ मत (मतभार १८५०) पाएका छन् । एसोसिएटतर्फ खसेको १४७ मध्ये १०७ मत (मतभार ३२१०) र वस्तुगततर्फको १९ मध्ये ११ मत (मतभार ३८०) गरी कुल ४६३० मतभार प्राप्त गर्दै राउत निर्वाचित भएको निर्वाचन अधिकृत विकास थापाले बताए ।

त्यस्तै रिजालले जिल्ला नगर संघबाट १३ मत (मतभार ६५०), वस्तुगतबाट ६ (मतभार १२०) र एसोसिएटबाट ३९ (मतभार ११७०) गरी कुल १९४० मतभार प्राप्त गरे ।

निर्वाचनमा जिल्ला नगरतर्फ ३८ (१८५० मतभार), वस्तुगततर्फ १९ (३८० मतभार) र एसोसिएटतर्फ १४८ (४४१० मतभार) गरी २०५ मतदाता रहेका थिए । जसमध्ये जिल्ला नगर र वस्तुगततर्फ सबै मत खसेको थियो भने एसोसिएटतर्फ एक मत कम खसेको थियो ।

१४ सदस्यीय प्रदेश कार्यसमितिमा एक अध्यक्ष, ५ खुला सदस्य र २ वस्तुगत सदस्य पद गरी कुल ८ पदमा निर्वाचन भएको थियो ।

तीन उपाध्यक्षमा ऋषिराज तिम्सिना (जिल्ला नगर), राजन श्रेष्ठ (वस्तुगत) र रविनकुमार दाहाल (एसोसिएट) सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।

जिल्ला नगरतर्फका ५ सदस्यमा ७ जनाबीच प्रतिस्पर्धा हुँदा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, जयप्रकाश शर्मा, खड्गबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । शेरबहादुर भण्डारी र शोभा कोइराला पराजित भए ।

त्यस्तै वस्तुगततर्फका दुई सदस्यमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा सुवास आचार्यले ११ मत र दीपक पाण्डेले १५ मत प्राप्त गर्दै निर्वाचित भए । धनबहादुर काफ्लेले ६ मत मात्र प्राप्त गर्दा पराजित बनेका हुन् । अध्यक्षमा निर्वाचित भएका राउतले आफूले गरेको प्रतिबद्धता अनुसार सबैको मत प्राप्त गरेको बताए । उनले राम्रो काम गर्न संघर्ष गर्नुपर्ने कुरा आफूले महसुस गरेको बताए ।