काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिटो सार्वजनिक गर्न प्रधानमन्त्रीले कडा अडान लिएपछि राष्ट्रिय परीक्षा बोर्डभित्र दबाब बढेको बताइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेलले शिक्षामन्त्रीसमक्ष एसईई नतिजा सार्वजनिक गर्न कम्तीमा दुई महिना लाग्ने जानकारी दिएका थिए । तर, प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै १५ दिनभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने स्पष्ट अडान राखेपछि सम्बन्धित निकायमा दबाब सिर्जना भएको स्रोतले जनाएको छ।
मन्त्रालयका एक कर्मचारीका अनुसार प्रधानमन्त्रीले “परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीको अंक बढ्ने वा घट्ने चिन्ता नगर्नुहोस्, १५ दिनभित्र नतिजा कसरी सार्वजनिक गर्न सकिन्छ त्यसको योजना ल्याउनुहोस्” भन्ने निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको यस निर्देशनपछि परीक्षा प्रणालीलाई छिटो र प्रभावकारी बनाउने विषयमा आन्तरिक तयारी सुरु भएको छ। यद्यपि, यो विषयमा राष्ट्रिय परीक्षा बोर्डभित्र औपचारिक छलफल भने अझै हुन बाँकी रहेको बताइएको छ।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा छिटो सार्वजनिक गर्ने विषयमा कार्यविधि तयार गर्ने काम भइरहेको पुष्टि गरेका छन्। तर, बोर्डमा आधिकारिक निर्णय नभएसम्म थप टिप्पणी गर्न नसकिने उनले बताएका छन्।
प्रधानमन्त्रीको यो कदमलाई शिक्षा क्षेत्रमा सुधार ल्याउने प्रयासका रूपमा हेरिएको छ भने अर्कोतर्फ यथार्थपरक समयसीमा र व्यवस्थापन क्षमतामाथि प्रश्न पनि उठ्न थालेका छन्।



















































