झापा । झापाको मेचीनगरमा पर्ने कालिका सामुदायिक वन उपभोक्ता समितिभित्र लडेका रुखको गोलिया चोरी भएको विषय सतहमा पुगेको छ । विषय सतहमा पुगेपनि नेतृत्वले चासो नदिएको उपभोक्ताको गुनासो छ । घटना फागुन २२ गतेको हो । २१ गतेको प्रतिनिधि सभा निर्वाचन सकिएपछि सर्वसाधारणको ध्यान मतगणनातर्फ केन्द्रीत बनेको थियो । प्रायः सबै संघसंस्था र वन कार्यालय ठप्प थिए ।
अघिल्लो कार्यसमितिले टाँचा लगाएको (झार उम्रिएर टाँचा नदेखिएको) तर, संकलन गर्न नसकेको कालिका वनको कालिमन्दिर नजिकै लडेको रुखको ९ वटा लक्डीमध्ये केही लक्डी हराएपछि विषय सतहमा आएको हो । विगतको समितिले दायित्व तिर्न बढी देखिएपछि उक्त टाँचा लगाएका रुख डिभिजन वन कार्यालयले उठाउन रोकेको थियो ।
कसरी हरायो रुखः
यो घटनामा कालिका वन समितिका निर्वाचित कोषाध्यक्ष सन्दिप तिम्सिना (भोले) र सहसचिव हरी पाठकको नाम मुछिएको छ । उनीहरुमध्ये तिम्सिना लोकतान्त्रिक प्यानल (एमाले) बाट कोषाध्यक्षमा निर्वाचित भएका थिए । पाठक साझा प्यानलबाट सहसचिव पदमा निर्वाचित भइ वनको विरासत जोगाउन पुगेका थिए । फागुन २२ गतेका दिन कोषाध्यक्ष आफैं लागेर कालीमन्दिर छेउमा लडेको घाटगद्दीमा पुर्याउन बाँकी रहेको रुखको नौ वटा लक्डीमध्ये ६ वटा लक्डी लागेको श्रोतको दावी छ । उक्त ६ वटा लक्डीमा करिव एक सयबढी क्युफिट काठ हुनसक्ने बताइएको छ ।
काठ रुखको गोलीया हराएको विषयमा समितिका पदाधिकारी र उपभोक्तालाई जानकारी दिइएको भन्दै टोल नम्बर ४ का सदस्य प्रशान्त कटुवाललाई समितिका कोषाध्यक्ष र सहसचिव पाठकले धम्क्याएको उनलाई उद्रित गर्दै एक उपभोक्ताले अनुगमन अनलाइनलाई जानकारी दिए । समितिको बैठकमै मैले विषय उठान गरेको थिएँ, मलाई घेरा हाले र भने सबै भएको बेला किन भनेको भन्दै धम्क्याएको कटुवालले मलाई सुनाएका थिए, उपभोक्ताले भने । वनको काठ, दाउरा र अन्य बन्यजन्तु चोरी नियन्त्रणका लागि मेचीनगर ११ र १२ मा पर्ने कालीका वनमा टोल सदस्यका रुपमा उम्मेद्धार निर्वाचित गर्ने प्रकृया नै अघि बढाएको थियो । कटुवाल पनि टोल नम्बर ४ बाट निर्वाचित सदस्य हुन् । उनले वनबाट हराएको काठको गोलियाका विषयमा जानकारी गराएका थिए । उक्त विषयका बारेमा जानकारी गराएबापत उनलाई समितिबाटै असुरक्षित भएको बताउँदै आएका छन् ।
विषय उठान भएको दुईहप्ता बढी हुँदा पनि सामुदायिक वनका अध्यक्ष वीरबहादुर तामाङ (ज्ञानु) ले छानविन समेत नगरेको आरोप उपभोक्ताको छ । समस्या भएको भनी हल्ला भएपछि छानविन हुन जरुरी छ । एकजना उपभोक्ताले भने, सत्यतथ्य छानविन गर्न अध्यक्ष किन हिचकिचाउनु भयो । के कारणले हालसम्म पनि कोषाध्यक्ष र सहसचिवमाथि छानविन भएन उनको प्रश्न थियो । यसअघिको नेतृत्वले वनलाई घाटामा पुर्याएर नयाँ नेतृत्वको रुपमा तामाडलाई अघि सारेका थियौं । उनले चाडै निकास दिनुहुन्छ भन्ने आशमा छौं उनले भने ।
यता कालीका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर तामाङले उपभोक्तामाझ धेरै हल्ला भएकाले छानविनको तयारीसँगै गोलीयाको चेकजाँचलाई अघि बढाएको जानकारी दिए । छानविनका लागि छुट्टै समिति बनाउने छौं । हराएको हो भने वनका अरु गोलीया पनि हराएको छ कि भन्ने प्रष्ट हुन गोलीयाको चेकजाँचलाई तिव्र बनाएका छौं । हालसम्म ७ वटा लडेका रुखको चेकजाँच गरिसकेको र अरु गर्न बाँकीको निरन्तर अघि बढाइएको छ । समितिको निर्णयविना नै अनधिकृत रुपमा रुखको गोलीया लगेको पुष्टी भएमा सम्बन्धित व्यक्तिलाई वन ऐन नियम अन्तरगत कडा कारवाहीको सिफारिस गरिने अध्यक्ष भनाई छ ।
यता समितिका कोषाध्यक्ष सन्दिप तिम्सिना (भोला) फागुन २२ गते आफ्नो ट्याक्टरले काठ बोकेको तर वनभित्र गोलिया काठ नबोकेको जनाउ दिएका छन् । उनले बास्तविक विषयभन्दा हल्लाको पछि मात्रै लागेको आरोप लगाएका छन् ।



















































