काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो ।

‘विदेश मन्त्रालयले नो अब्जेक्सन लेटर जारी गरेपछि सीमा व्यापार पुनः सुरु गर्ने प्रक्रिया अगाडि बढेको छ,’ पीटीआईको समाचारमा भनिएको छ, ‘विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्यसचिव आनन्द बर्द्धनलाई पत्र लेखेर लिपुलेक पासबाट व्यापार पुनःस्थापित गर्न भनेका छन् ।’ समाचारमा पिथौरागढका जिल्ला अधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आशिष भटगाईंलाई उद्धृत गर्दै केन्द्रको निर्देशनपछि व्यापारको तयारी सुरु भएको भनिएको छ । लिपुलेक पास हुँदै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म व्यापार सञ्चालन हुने सिजन मानिन्छ ।नेपालको विरोध र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रहलाई भारतले बेवास्ता गरेको छ । हिमाली मार्गबाट व्यापार पुनः खोल्न भारतको विदेश मन्त्रालयले अनुमति जारी गरेसँगै त्यहाँको गृह र वाणिज्य तथा उद्योग मन्त्रालयले पनि मातहतका निकायलाई अनुमति दिइसकेका छन् । केन्द्रको निर्देशनपछि राज्य सरकारले व्यापारका लागि अनुमतिपत्र (पास) प्रदान गर्ने अधिकारी र मुद्रा विनिमयका लागि बैंक तोक्न तथा भन्सार विभाग र धार्चुला प्रशासनसहितलाई द्विपक्षीय व्यापारका लागि कार्ययोजना बनाउन निर्देशन दिएको छ । पीटीआईको समाचारअनुसार उक्त कार्ययोजनामा बास, ट्रान्जिट क्याम्प, बैंकिङ सेवा, सञ्चार, सुरक्षा र व्यापारीहरूका लागि चिकित्सा सुविधाहरू समावेश हुनेछन् । साथै चिनियाँ पक्षका स्थानीय समकक्षी अधिकारीहरूसँगको समन्वय तथा सम्पर्क पनि कार्ययोजनामा छन् । 

केन्द्र सरकारको निर्देशनपछि स्थानीय प्रशासनले लिपुलेक हुँदै भारत र चीनबीचको व्यापार खुलाउने विषयमा दुई दिन अगाडिबाट काम थालेको पिथौरागढका पत्रकार प्रेम पुनेठा बताउँछन् । ‘हिमाली क्षेत्रको मौसमलाई हेर्दै १ जुनदेखि ३० सेप्टेम्बरसम्म ४ महिना व्यापार चलाउने तयारी छ । मौसमले साथ दियो भने त्यो समय बढ्न पनि सक्छ ।’ पत्रकार पुनेठाका अनुसार जिल्ला अधिकारीले सीमा व्यापार सञ्चालनका लागि आवश्यक सबै तयारी जुनअगाडि पूरा गर्न सबै निकायलाई निर्देशन दिएका छन् । सीमा क्षेत्रमा सञ्चारको सुविधालाई दुरुस्त पार्न जिल्ला अधिकारीले बीएसएनएल सञ्चार कम्पनीलाई पनि निर्देशन दिएका छन् ।

पिथौरागढ प्रशासनले शुक्रबार जारी गरेको ‘प्रेस नोट’मा लिपुलेक पास हुँदै भारत–चीन व्यापार मार्ग खुलाउन जिल्ला अधिकारीको नेतृत्वमा बैठक भएको भनिएको छ । दुई देशबीचको सीमा व्यापार सम्झौताअनुसार भारतले चीनबाट ऊन, पस्मिना, नुन, बोरेक्स, रेसम, मक्खन, याकको कपाल, छाला आदि ल्याउन पाउँछ । त्यस्तै, कपडा, कम्बल, मसला, गहुँको पीठो, सुक्खा मेवा, तरकारी, तामाको उत्पादन, कृषि उपकरण, स्टेसनरी, जुत्ता, वनस्पति तेल निर्यात गर्न पाउने जिल्ला प्रशासनको ‘प्रेस नोट’मा उल्लेख छ ।

श्रोत: कान्तिपुर दैनिकबाट