मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं. १ का उम्मेद्वारले चुनावी संकल्प पत्र सार्वजनिक गरेका छन् । आइतबार धुलाबारीमा पत्रकार सम्मेलन गर्दै त्यस क्षेत्रका मतदाताको समस्या सामाधान गर्ने संकल्प पत्र सार्वजनिक गरेको हो । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राप्रपाले झापा क्षेत्र नं.१ बाट मेचीनगर–४ बाहुनडाँगीका हेमराज कार्कीलाई उम्मेद्वार बनाएको छ। पत्रकार सम्मेलनमा ३४ बुँदेको संकल्प पत्र बाचन गरेर सार्वजनिक गरेका थिए । संकल्प पत्रमा नेपालमा उत्पादन भएका सुपारीको डीएनए परीक्षणको प्रस्तावलाई खारेज गर्नु पर्ने माग समेत उल्लेख गरिएको छ ।
सुपारी आयातलाई निरुत्साहित गर्ने र स्वदेशी उत्पादनको संरक्षण गर्ने छ ।विपन्न परिवारलाई निःशुल्क आवास र रासनकार्डको व्यवस्थाको पहल गर्ने, बाहुनडाँगी–तारावारी मेची पुल निर्माण, झोलेङ्गे पुल, कालापत्रे सडक, पुल ,कल्पट, सिंञ्चाई, खेलकुद, कृषि, शिक्षा, स्वास्थ्य, जीवन बीमा, पशुपंक्षी बीमा, बाली बीमा, वन्यजन्तुबाट हुने मानविय र अन्य क्षतिको उचित क्षतिपूर्तीको व्यवस्था गर्ने, मानव हात्ती द्वन्द व्यवस्थापन समितिका लागि बजेटको व्यवस्था, धार्मिक तथा पर्यटकीय स्थलको विकासलाई प्रोत्साहन गर्ने, विद्यालयको भौतिक पूर्वाधार, ज्यालादारी, करार, राहत, कर्मचारी, शिक्षकहरुको सेवासुविधाका लागि पहल गरिने, विशेष आर्थिक क्षेत्र (सेज) स्थापना, उद्योगहरुमा लागेको करको दर घटाउने, चिया खेतीका लागि चाहिँने मल र किटनाशक औषधिहरु आयात गर्न साना किसान तथा उत्पादकहरुलाई अनुमती दिने, ५ वर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क, दीर्घ रोग भएका सबैलाई उपचार निःशुल्क, ग्रामिण आवास कम्पनीको मातहत रहेका जग्गाहरु स्थानीय तहमा ल्याउन अधिकतम प्रयास गरिने लगायत विषयहरु संकल्प पत्रमा उल्लेख रहेको छ ।
संकल्प पत्र घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले नेपालमा वैदिक सनातन हिन्दु राष्ट्रिय स्थापित गर्दै नेपालीको समस्या सामाधान गर्नुपर्नेमा जोड दिएका थिए ।झापा क्षेत्र नं.१ का निर्वाचन परिचालन समिति संयोजक कल्याण खड्काको अध्यक्षतामा सम्पन्न संकल्प पत्र घोषणा कार्यक्रमको सञ्चालन मेचीनगर सचिव विशालकृष्ण बाँस्तोलाले गरेका थिए ।



















































