धुलाबारी । प्रतिनिधि सभा निर्वाचनमा दलहरुलाई आचारसंहिता पालना गर्न निर्वाचन आयोगले पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा भेला, जुलुस, सभा तथा २५ जनाभन्दा बढीको भेला गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । साथै, उम्मेदवार तथा दलहरुले फागुन ४ गतेपछि मात्रै औपचारिक प्रचारप्रसार गर्न पाउने व्यवस्था रहेको छ । तर, धुलाबारीमा आयोजित कांग्रेसको बृहत भेला यी व्यवस्थाको ठाडो उल्लंघन गरेको पाइएको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आइतबार हिजो आफ्नो गृहनगर धुलाबारी आएर सयबढी कार्यकर्ता भेला पारेर उम्मेद्वारलाई भोट दिएर बिजय गराउन अपिल गरेका थिए । धुलाबारीमा आयोजित कार्यक्रममा उनले सयौँको संख्यामा उपस्थित कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस झापा क्षेत्र नम्बर–१ का उम्मेद्वार केशवराज पाण्डेलाई जिताउन अपिल गरेका हुन् ।शर्माले अपिल गर्दा उम्मेद्वार केशवराज पाण्डे पनि मञ्चमै थिए । विश्वप्रकाश शर्माले पाण्डेलाई आगामी निर्वाचनमा भोट दिन अपिल गर्दै ‘पाण्डेलाई जिताउनु भनेको मलाई जिताउनु जस्तै हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।
स्थानीयस्तरमा सयौँ कार्यकर्ता उपस्थित रहेको उक्त भेलालाई राजनीतिक भाषणसहित सम्बोधन गरिनु आचारसंहिता विपरीत भएको निर्वाचन आयोगको ठहर छ । आफूलाई लोकतान्त्रिक पार्टीको रुपमा चिनाउँदै आएको नेपाली कांग्रेसले नै निर्वाचन आयोगका निर्देशनहरु पालना नगर्नु विडम्बनापूर्ण भएको विश्लेषकहरुको भनाइ छ । पार्टीभित्र रुपान्तरण र अनुशासनको कुरा गर्दै आएका नेता विश्वप्रकाश शर्माबाटै यस्तो कदम चालिनु गलत सन्देश जाने उनीहरुको तर्क छ ।
राजनीतिक दल तथा नेताहरुले निर्वाचन आयोगले बनाएको आचारसंहिता सबैका लागि बराबर लागू हुने विषय हो भन्ने कुरा बुझ्न आवश्यक रहेको बताइन्छ । सत्तामा रहेका वा ठूला दलका नेताहरुले नै आचारसंहिता उल्लंघन गरेमा त्यसले लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठ्ने खतरा रहेको सरोकारवालाहरुको चिन्ता छ । घटनाबारे औपचारिक रुपमा जानकारी नभए पनि उक्त भेला आचारसंहिता विपरित हुने झापा क्षेत्र नं १ निर्वाचन कार्यालय प्रमुख गोपी विश्वकर्माले बताए । यदि त्यस्तो हो भने आवश्यक छानबिन गरी उम्मेद्वारलाई सचेत गराउने उनले बताएका छन् ।





















































