झापा । झापाको दमक १ सूर्योदय टोलमा दुईवटा घरमा आगलागी हुँदा सात लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । हर्कबहादुर कुमालको काठ र टिनले बनेको एकतले घरमा विद्युत्त सर्ट भई आगो लागेको थियो ।
शुक्रबार दिउँसो हर्कबहादुरको घरबाट सल्किएको आगो फैलिएर छेउका उनका भाइ हरिबहादुर कुमालको काठको घरमा सल्किएको थियो । कुमाल दाजुभाईको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिव ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हर्कबहादुर कुमालको घरभित्र रहेको आधा तोला सुन, खाद्यान्न लत्ताकपडा, फर्निचर जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ भने उनका भाइ हरिबहादुर कुमालको घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा,फर्निचर गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो दमक नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली ,सशस्त्र प्रहरीको टोली र स्थानीयबासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।



















































