दमक । उम्मेद्वार बिवादका कारण  नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टी परित्याग गरेका छन् । आज समाजिक संजालमार्फत प्रसाईंले माघ ६ गतेदेखि नेपाली कांग्रेससँगको औपचारिक सम्बन्ध अन्त्य गर्दै अब राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चुनावी अभियानमा सक्रिय रहने जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अब आफ्नो राजनीतिक यात्रा पद, कुर्सी वा झण्डाको नभई परिवर्तनको यात्राका रूपमा अघि बढ्ने स्पष्ट पारेका छन्। प्रसाईंले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट रास्वपा उम्मेदवार बालेन शाहको चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो सामाजिक–राजनीतिक यात्रामा सहयोग गर्ने नेपाली कांग्रेसका नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक तथा आम नागरिकप्रति उनले हार्दिक आभारसमेत प्रकट गरेका छन्। उनले सामाजिक संजालमा यस्तो लेखेका छन् ।

उनले सामाजिक सन्जालमा लेखेको शब्द:प्रकाश प्रसाईं।

आज मिति २०८२ माघ ६ गतेदेखि
नेपाली कांग्रेस दमक नगर सभापतिको पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गर्ने औपचारिक घोषणा गर्दछु।
अब मेरो यात्रा पद, कुर्सी वा झण्डाको होइन,परिवर्तनको हो।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार,
काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।
मेरो सामाजिक–राजनीतिक यात्रामा साथ दिनुहुने पार्टीका नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, र आम नागरिकप्रति हार्दिक आभार। परिवर्तन सम्भव छ, हाम्रै पालामा।