झापा । वैदेशिक रोजगारीका लागि भाषा परीक्षा उत्तीर्णपछि कोरिया पठाउन ढिलाई गरेको भन्दै युवाहरुले प्रदर्शन गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेको एक वर्ष हुँदा समेत रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै ग्वार्कोस्थित इपिएस कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
सन् २०२५ का लागि कोरियाले उत्पादन मूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय कोटा तोकेकोमा एक लाख भन्दा धेरै युवा आवेदन दिएर पर्खिरहेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा मात्रै हाल १२ हजारभन्दा धेरै रहेको बताइएको छ ।
भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे रोस्टरबाट नाम हट्ने र रोजगारीका लागि कोरिया जान पुनः फेरि भाषा परीक्षामा सामेल भएर नयाँ जसरी उत्तीर्ण हुनुपर्ने प्रावधान छ ।
प्रदर्शनमा उत्रिएका युवाहरूले रोस्टरको अवधि बढाउनुपर्ने माग राखेका छन् । कृषि तथा पानीजहाज कम्पनीका लागि रोस्टरमा रहेकाहरूले रोजगारीमा जान नपाएको बताएका छन् ।


















































