झापा । झापामा सवारीसाधन चोरीका घटना बढ्दै गएको छ । पार्किङ गरेर राखेको दुई दिनमा दुईवटा सिटी सफारी र एउटा मोटरसाइकल चोरी भएको छ । शुक्रबार बिहानको राति बिर्तामोड–५ लायना होटेल अगाडी चार्जमा राखेको मेचीनगर–६ धुलाबारी बस्ने ३३ वर्षीय रोशन राजवंशीको नाममा रहेको प्र१–०१–०२ ह ५७९९ नम्बरको हरियो रङको सिटी सफारी चोरी भएको प्रहरीले जनाएको छ ।

त्यसअघि कात्तिक २६ गते राति मेचीनगर नगरपालिका–१० आम्दा रोड बस्ने विष्णुप्रसाद पौडेलको घरअगाडि पार्किङ गरी राखिएको प्र.१–०१–००२ ह २४९२ नम्बरको सिटी सफारी हराएको थियो । कात्तिक २७ गते दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा सिटी धनी पौडेलले निवेदन दिएपछि खोजतलासका क्रममा चिया बगानमा सो सिटी सफारी भेटिएको प्रहरी निरीक्षक नकुलराज गौतमले जानकारी दिए ।

त्यस्तै हिजो बिहान ११ बजेतिर झापा गाउँपालिका-६ चप्रामारीस्थित बाटोमा पार्किङ गरी सोही स्थानमा धान काट्ने क्रममा वडा नं. ४ बस्ने इजाबुल भामको नाममा दर्ता रहेको प्र १–०१–०१४ प ७९३ नम्बरको रातो कालो रङको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको छ । यसअघि  बिर्तामोडमा दुईवटा मोटरसाइकल चोरी भएको थियो ।