बिर्तामोड । उच्च अदालतको आदेश पीडितको पक्षमा नभएको भन्दै धरौटीमा रिहा भएका बिर्तामोडका ध्रुवकुमार शिवाकोटीविरुद्ध बालिकाका परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाबाट निर्वाचित  नगर प्रमुख हुन् ।
घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गत २०८१ मंसिर २४ पक्राउ परेका थिए ।
प्रहरीले पक्राउ गरेपछि अदालतले गत पुष २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपनि शिवाकोटी राजनीतिक आवरणमा ५ महिनादेखि बीएण्डसी अस्पतालमै रहेका थिए ।
उच्च अदालतले धरौटीमा छोड्न गत बैशाख २५ गते आदेश दिएको थियो । उच्च अदालत विराटनगरको इलाम इजलासले २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो । अदालतले आदेश दिएपछि शिवाकोटी रिहा भएका थिए ।
उच्च अदालतले गरेको आदेश राजनीतिक आवरणमा पीडितको पक्षमा नभएको भन्दै न्यायका लागि बालिकाको परिवारले गत साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उच्च अदालतको फैसलाप्रति चित्त नबुझेपछि आफूहरु सर्वोच्चमा गएको बालिकाका एक आफन्तले जनाएका छन् ।
बुबाआमा नभएकी पीडितलाई घरको काम गरिदिएवापत पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई पटकपटक करणी गरेको पीडितको प्रारम्भिक बयान छ ।