धुलाबारी । झापाको बाहुनडाँगी जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्तरगत २० जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर शिक्षा तालीम सुरु गरेको छ । बिर्तामोड एजुकेशन फाउण्डेशन शाखा कार्यालय धुलाबारीको सहयोग र बाहुनडाँगी जेसीजको सहकार्यमा २० जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर शिक्षाको तालिम दिन सुरु गरेको हो ।
बुधबार बिर्तामोड एजुकेशन फाउण्डेशन शाखा कार्यालय धुलावारीमा आयोजित कार्यक्रममा बाहुनडाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष नित्यानन्द चौलागाईं र फाउन्डेसन धुलाबारी शाखाका प्रबन्ध निर्देशक भुवन न्यौपानेले कम्प्युटर तालीम प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्प्युटर वेसिक, फोटोसप, डिजाइन, एकाउन्टिङ लगायतका कम्प्युटर तालीम प्रदान गरिने उक्त अवसरमा बाहुनडागी जेसीजका अध्यक्ष नित्यानन्द चौलागाईंले जानकारी दिए । कार्यक्रममा सरकारी र संस्थागत विद्यालयबाट (+२) माबि परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल २/२ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।
मेचीनगर नगरपालिकाका प्रशासन तथा अनुगमन शाखा अधिकृत अनन्तप्रकाश वस्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आस्था बाचन कार्यकारिणी उपाध्यक्ष रोशन गिरी र मिसन भिजन सचिव बिधात गिरी गरेका थिए । सो अवसरमा विर्तामोड एजुकेशन फाउण्डेशन धुलाबारी शाखाका प्रबन्ध निर्देशक भूवन न्यौपानेले विशेषज्ञ प्रशिक्षकबाट कोरियन, जापानीज भाषाका कक्षा, आइल्स कोर्स र कम्प्युटर कक्षा तालिम दिइदै आएको जानकारी दिए ।

नित्यानन्द चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रम संयोजक किशोर उपरकोटीले स्वागत र महासचिव सुष्मा मिश्रले सञ्चालन गरेकी थिइन् ।कार्यक्रममा सम्मानित विद्यार्थीका अभिभावक, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहेको थियो ।






















































