झापा । झापामा प्रहरीले गोली प्रहार गरेको छ। गोली लागेका व्यक्ति भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय मोहम्मद इस्लाम हुन्। लागु औषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो ।
शनिबार दिउँसो झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्न प्रयास गरेका थिए।
सो क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको संयुक्त टोलीले दुई राउन्ड गोली प्रहार गरेको थियो। एक राउन्ड गोली मोहम्मदको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ।
लागु औषध ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको र हाल घाइते उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको उनले जानकारी दिए।





















































