झापा । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति गठनसहित गृहमन्त्रीको राजीनामा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करी काण्डमा मुछिएका गृहमन्त्रीको राजीनामाको मागसहित ६ बुँदे माग झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पार्टीका कार्यवाहक सभापति प्रकाश पाठकको नेतृत्वले मङ्गलबार विभिन्न प्लेकार्डसहित गएका र्यालीका सहभागीहरुले विगत केही वर्षहरुमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सङ्गठित अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी , म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरुको संलग्नताको आशङ्का गरिएकामाथि र बहुआयामिक अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको छ ।
छानविन समितिको कार्यक्षेत्र , संरचना व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति गठन गरी सोही समितिबाट छानविन समिति गठन गर्नुपर्ने, छानविन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी र परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरुको प्रभावकारी समन्वय गर्दै छानविन पारदर्शी हुनुपर्ने मागसमेत गरेको छ ।
अवैध सञ्जालमाथि अध्ययन, अनुसन्धान, पीडितको संरक्षण र पीडितमैत्री पुनस्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव, दोषीलाई कानुनबमोजिम हदैसम्म कारबाही गरी पीडितलाई संरक्षण र राहतको व्यवस्था गरिनुपर्ने र मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक, प्रशासनिक ,जवाफदेहिता र कर्तव्यको अपेक्षासहित गृहमन्त्रीको राजीनामा समेत ज्ञापनपत्रमा उल्लेख छ ।
कार्यवाहक जिल्ला सभापति पाठकले बाचन गरेको ज्ञापनपत्रलाई पार्टीका केन्द्रीय सङ्गठन विभाग सदस्य ओमनाथ भण्डारीले बुझाएका थिए ।