मेचीनगर । झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले `पानीको गुणस्तर र मुहानदेखि मुखसम्म खानेपानी सुरक्षित प्रयोग बिषयक´ दुई दिवसीय कार्यक्रम सुरु गरेको छ । मेचीनगर-२ स्थित भृकुटीमा सञ्चालनमा आएको र मेचीनगर-५ मा निर्माण पूरा भएको ओभरहेड ट्यान्की परिषरमा बिहीबार उपभोक्तालाई पिउने पानीको प्रयोग र सुरक्षाको बिषयमा छुट्टाछुट्टै स्थानमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो।

संस्था अन्तरगत `पानी सुरक्षा टोलीका संयोजक तथा संस्थाका सचिव बिशाल लिम्बुको अध्यक्षतामा सम्पन्न जनचेतना मुलक कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनलाई थप मजबुत बनाउँदै उपभोक्तामैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइने बताएका थिए ।खानेपानी सेवा र गुणस्तरमा सुधार, स्रोत संरक्षण तथा वितरण व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन उपभोक्ताहरूले सल्लाह सुझाव दिन आग्रहसमेत गरेका थिए। उनले संस्थाले आगामी दिनमा खानेपानी तथा सरसफाइ क्षेत्रका चुनौती सामना गर्दै उपभोक्तालाई भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संस्थाका सचिव लिम्बुले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराएको कार्यक्रममा संस्थाका ब्यवस्थापक दिपक पोख्रेलले खानेपानी कार्यालयले प्रदान गर्दै आएको सेवा, ओभरहेड ट्यान्कीको संख्या र अवस्था, सेवाग्राहीको संख्या,  शुद्ध पिउन पानी नपिउँदा लाग्ने रोगको बारेमा जानकारी गराएका थिए । उनले मेचीनगर-२ मा सहभागी भानु माबी, पशुपति माबिका विद्यार्थी र शिक्षक तथा मेचीनगर-५ मा आदर्श माबिका विद्यार्थीलाई पानी सम्बन्धि प्रश्नोउत्तर कार्यक्रम सञ्चालन गरेका थिए ।प्रश्नोउत्तर कार्यक्रममा सहभागीमध्ये एक दर्जनबढी विद्यार्थीहरुलाई उपहार प्रदान गरिएको थियो । छुट्टाछुट्टै कार्यक्रममा पानीको समस्या सुधारका लागि उपभोक्ताले गुनासो तथा जिज्ञासा राखेका थिए । मेचीनगर-२ मा आयोजित कार्यक्रममा नुरबहादुर कार्की, शिक्षक लक्ष्मण प्रधानले पानीको अवस्थाको बारेमा ध्यानाकर्षण गर्दै संस्थाको प्रगतिकाे कामना गरेका थिए ।

त्यसैगरी मेचीनगर-५ का वडाध्यक्ष कनक कार्की, मेचीनगर-८ का वडाध्यक्ष गिरिराज धमला, शिक्षक जिआर धिताललगायतले आफ्नो क्षेत्रमा निर्माण पूरा भएको ओभरहेड ट्याङ्कीबाट सर्वसाधारणले गुणस्तरीय पानी पिउन पाउने आशा जागेकोमा खुसी व्यक्त गरेका थिए । प्रकाश ढुंगाना र हरि देवाकोटाले स्वागत गरेको कार्यक्रमको संचालन रघुनाथ खतिवडाले गरेका थिए ।