झापा । रासायनिक मलको माग तथा खपत उच्च हुने धान रोपाइँको सिजनलाई लक्षित गर्दै कृषि, वन तथा पशुपन्छी मन्त्रालयले मल आपूर्ति तथा वितरणसँग सम्बन्धित गुनासा तत्काल सम्बोधन गर्न संघीय तथा प्रदेश तहमा फोकल व्यक्ति तोकेको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार रासायनिक मलसम्बन्धी कुनै पनि समस्या, गुनासो वा सुझाव भए सम्बन्धित प्रदेशका तोकिएका फोकल व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। साथै, QR कोड स्क्यान गरेर पनि अनुदानको रासायनिक मलसम्बन्धी गुनासो सिधै पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ।

सूचनाअनुसार संघीय तहमा सहसचिव डा. रामकृष्ण श्रेष्ठ लाई फोकल व्यक्ति तोकिएको छ। त्यस्तै गण्डकी, बागमती, लुम्बिनी, कोशी, सुदूरपश्चिम र मधेश प्रदेशका लागि समेत छुट्टाछुट्टै अधिकारीहरूलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

धान रोपाइँको समयमा मल अभाव, वितरणमा अनियमितता तथा अन्य समस्याबारे किसानबाट प्राप्त गुनासोको छिटो सुनुवाइ गरी समाधान गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले किसान तथा सरोकारवालालाई आवश्यक परे सम्बन्धित फोकल व्यक्तिसँग सम्पर्क गर्न वा QR कोडमार्फत आफ्नो गुनासो दर्ता गर्न आग्रह गरेको छ। सूचना २०८३ असार ३ गते जारी गरिएको हो।