मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब १ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। प्रस्तुत बजेटमा सडक पूर्वाधार, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, कृषि, खेलखुद, वातावरण संरक्षण तथा डिजिटल सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको अनुमानित बजेट प्रस्तुत गरिएको छ । मेचीनगरको दोस्रो नगर सभाको नवौं अधिवेशनमा उपमेयर मिना उप्रेती पोख्रेलले आगामी वर्षको अनुमानित बजेट बाचन गरेकी थिइन् ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष बजेटको आकारमा उल्लेख्य वृद्धि नभए पनि स्रोत व्यवस्थापनलाई यथार्थपरक बनाउँदै आन्तरिक आम्दानी वृद्धि र गुणस्तरीय सेवा प्रवाहमा जोड दिइएको छ। नगरपालिकाले आगामी वर्ष आन्तरिक आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँड र मालपोत दर्ता शुल्कलगायतका स्रोतबाट बजेट व्यवस्थापन गर्ने जनाएको छ ।
नगर प्रोफाइल तयार गरी एकीकृत नगर सेवा प्रणाली पूर्ण कार्यान्वयन गर्ने, नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना, डिजिटल सेवा र सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउने, सबै सहायक सडकलाई क्रमशः कालोपत्रे तथा ढल व्यवस्थापन गर्ने लगायतमा प्राथमिकता दिइने जनाएको छ ।
त्यस्तै कृषि क्षेत्रमा सौर्य पम्प, ड्रिप सिँचाइ, पोखरी निर्माण र वर्षा पानी संकलन गर्ने, अलैँची, सुपारी, अदुवा, बेसारजस्ता नगदेबाली प्रवर्द्धन, किसान सूचीकरण र बाली बीमा विस्तार, आधारभूत अस्पताल सुदृढीकरण र डिजिटल स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा डिजिटल हाजिरी तथा सूचना प्रविधि विस्तार, महिला, दलित, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम, पुनःचक्रण केन्द्र, कम्पोस्टिङ इकाइ र प्लास्टिकमुक्त अभियान एयर क्वालिटी मनिटरिङ स्टेशन स्थापना गर्ने, जंगली हात्ती प्रभावित क्षेत्रमा सुरक्षा र विपद् व्यवस्थापनलाई निरन्तरता दिइने उल्लेख छ ।
उपप्रमुख उप्रेतीले चालु वर्षको प्रगतिको अवस्था समेत प्रस्तुत गरेकी थिइन् । उनले प्रस्तुत गरेको नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म चालुतर्फ ७५ प्रतिशत र पुँजीगततर्फ ३८ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ। क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ २२ प्रतिशत, पूर्वाधार विकासतर्फ ४१ प्रतिशत, सामाजिक विकासतर्फ ३७ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ६१ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ३२ प्रतिशत प्रगति भएको विवरण प्रस्तुत गरिएको छ।
नयाँ बजेटको विशेषता:
यस वर्षको बजेटमा परम्परागत निर्माणमुखी योजनासँगै सेवा प्रवाहलाई डिजिटल बनाउने, नगर सेवा प्रणाली एकीकृत गर्ने, कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण र सामाजिक समावेशीकरणलाई विशेष महत्व दिइएको छ । साथै नगरभित्रका सबै सडकलाई क्रमशः ‘अल वेदर रोड’ मा रूपान्तरण गर्ने, विद्यालयमा डिजिटल प्रणाली विस्तार गर्ने तथा स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।
मेचीनगरको आगामी आर्थिक वर्षको बजेटले पूर्वाधार विकाससँगै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणलाई समानान्तर रूपमा अघि बढाउने रणनीति लिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । बुढाथोकीको अध्यक्षतामा सम्पन्न दोस्रो नगर सभाको नवौं अधिवेशनमा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, १५ वटै वडाका वडाध्यक्ष, सदस्य, कर्मचारी तथा पत्रकारहरुको सहभागीता थियो । राजनीति दलको प्रतिनिधित्व भने थिएन ।




















































