मेचीनगर । समाजमा बढ्दै आएको लैङ्गिक हिंसा रोक्न महिला र पुरुषको सोच बद्लिन आवश्यक रहेको बताइएको छ । पुरानो सोच र दृस्ठिकोणलाई बदलेर नयाँ चेतनाको विकासले मात्रै समाजमा घट्ने लैङ्गिक हिंसा रोकिने मेचीनगरको महिला तथा बालबालिका शाखाद्वारा अयोजित लैङ्गिक हिंसाविरुद्ध संलग्न सरोकारवलाहरुका लागि दुई दिवसीय क्षमता अभिवृद्धि  कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले पितृसतात्मक शैली र ब्यवहारका कारण लैङ्गिक हिंसा हुने गरेको धारणा राखेका थिए । पछिल्लो पुस्ताका पुरुष तथा महिलामा शिक्षा र सचेतना भएकै कारण लैङ्गिक हिंसाका घटना न्यूनीकरणमा आउन थालेको सहभागीहरुले बताएका थिए । चुहो चौकादेखि घरभित्रका अन्य काममा पुरुषले निर्देशन गर्ने त्यसको दवाव परेर महिला लैङ्गिक हिंसामा पर्नेगरेको पाइएको थियो भने कतिपय शिक्षित महिला भएको घरमा महिलाबाट पुरुष लैङ्गिक हिंसामा पर्ने गरेको सहभागीहरुले व्यक्त गरेका थिए ।
घरभित्र हुने प्रायः सबै काम महिलाले मात्रै सम्पादन गर्दैआएकोमा  पुरुष सचेत र शिक्षित हुँदा केही सुधार हुँदैआएको र घरभित्रदेखि बाहिरका ब्यवहार पुरुषले मात्रै गर्ने कार्यशैलीले महिलाको क्षमता, योग्यताको कदर नभएको बताएका थिए । 
महिला बिरामी हुँदा पुरुषले घरभित्रको कार्यसम्पादन गर्न नसक्ने र पुरुष बिरामी हुँदा पनि महिलाले बाहिरको सम्पादन गर्न नसक्ने भएकाले महिला पुरुषको योग्यता, क्षमता, शारीरिक अवस्थाकै आधारमा दुबै जनाले समान ढंगले कार्यसम्पादन गरेमात्रै  लैङ्गिक हिंसारहित समाजको विकास हुने सहजकर्ता लैङ्गिक प्रतिकार्य बिज्ञ मेनुका बस्नेतको भनाई थियो ।
उनले पितृसतात्मक सोच, कमजोर मनोबलकै कारण महिलाहरु यौनिक र लैङ्गिक हिंसामा पर्ने गरेको बताइन् ।  स्वतन्त्रता, सभ्य सोच र उन्नत दृस्ठिकोण राख्ने पुरुषबाट महिलाले सफलता पाउने, महिलाको महत्त्वपूर्ण भुमिकाले मात्रै पुरुषले सफलता पाउने उदाहरण प्रस्तुत गरेकी थिइन् ।
मेचीनगर पालिकाकी मिना पोख्रेल उप्रेतीको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्घाटन कार्यक्रम कमला उप्रेतीले स्वागत र महिला तथा बालबालिका शाखाकीअधिकृत जयन्ती खरेलले संचालन गरेकी थिइन् ।