काठमाडौं । राजबादीले शुक्रबार गरेको हिंसात्मक आन्दोलनमा परी दुई जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीसहित दुई दर्जनबढी घाइते भएका छन् ।
तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’
एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।
त्यस्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएकाउपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि कर्फ्यु आदेश जारी भएको छ।
शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका राजवादीहरुको भिड अराजक बन्दै हिंसात्मक घटनामा सुरक्षाकर्मीसहित दर्जनौं घाइते भएका छन् ।
उनीहरूले तीनकुनेमा एउटा भवन, आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय, जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायत विभिन्न स्थानमा आगजनी तथा तोडफोड गरेका थिए। 
स्थिति अनियन्त्रित बन्दै गएपछि दिउँसो कर्फ्यु आदेश जारी भएको थियो। कर्फ्यु आदेश जारी भएपछि तीनकुने क्षेत्रमा बख्तरबन्दसहित सेना पुगेको थियो।
प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि त्यसको पालना गराउन सेना परिचालन गरिने व्यवस्था छ।