दमक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान अघि बढेको बताएका हुन् ।
आफूले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको स्मरण गराउँदै उनले अब पार्टीले देशब्यापी अभियानको रुपमा यसलाई अघि बढाउने बताए।
‘मैले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ’ उनले भने ‘यो निरन्तर अघि बढ्ने छ ।’
अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए। ‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ किनकि यो संविधान उहाँलाई मन परेको छैन ।
आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सामान्तवादविरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको पूर्वले अब समाजवादी क्रान्तिको अगुवाई गर्ने आफ्नो विश्वास रहेको पनि उनले स्पष्ट गरे ।
‘पूर्व यसै पनि सामन्तवादका विरुद्ध केन्द्रविन्दु रह्यो । विरानटगरको मजदूर आन्दोलन, झापा बिद्रोहहुँदै सामन्तवादका विरुद्धको आन्दोलनमा पूर्वका जनताको राजनीतिक चेतना र संघर्ष ऐतिहासिक छ’- अध्यक्ष प्रचण्डले भने ‘तर, यहाँका नेताहरुले कता कता पूर्वलाई धोका दिने गरेको यहाँहरुले नै महसुस गरिरहनु भएको छ, जसरी हिजो सामन्तवादका विरुद्ध पूर्वले लडाई लड्यो, अब भ्रष्टाचारविरुद्धको अभियान प्रभावकारी बनाउँदै समाजवादी क्रान्तिको लडाईको नेतृत्व गर्न पनि पूर्व तयार हुनेछ भन्ने विश्वास लिएको छु ।’
अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि बढाएको र दोस्रोपटक प्रधानमन्त्री हुँदा पहिचान पक्षधर शक्तिलाई विश्वासमा लिएर संविधान कार्यान्वयन गर्ने देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गर्ने अभियानको नेतृत्व गर्न पाउँदा गर्व महसुस भएको बताए । तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानसँगै नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत ब्यापार सम्झौता, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता र सिमा समस्या समाधानदेखि चीनसँग आठ वटा परम्परागत नाका खोल्ने र कृषि उत्पादन वृद्धिका लागि समझदारी गर्ने काम अघि बढाएको उनले स्पष्ट पारे ।
संयुक्त राष्ट्रसंघको महासभा, खाद्य सम्मेलन र जलवायु परिवर्तन सम्मेलनमा नेपाल र नेपालीको पक्षमा दृढताका साथ मत राखेको स्मरण गराउँदै उनले देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि यी अभियान मन नपरेर दलाल, भ्रष्ट र बिचौलियाहरुले सरकार ढालेको स्पष्ट पारे । अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनले स्पष्ट गरे ।
जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश जसपा नेपाल प्रदेश नम्बर १ का पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता, एमाले पूर्वजिल्ला सदस्य मेघप्रसाद दाहालसहित दमक नगर सदस्यसहितका विभिन्न तहका नेता कार्यकर्ता, क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराईसहितका नेता कार्यकर्ता, राप्रपाबाट इन्द्रबहादुर तामाङसहितका नेता कार्यकर्ता, कांग्रेसबाट राजेश ठकुरीसहित विभिन्न तहका नेता कार्यर्ता, रास्वपाका प्रेमप्रसाद दाहालसहितका नेता कार्यकर्ता छन् ।
दमन नगरपालिका वडा नम्बर ४ बाट मात्रै १२९ जनासहित पाँच सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र दमक नगर समितिले जनाएको छ ।



















































