काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमै पहिलोपटक जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भएको बताएका छन् । जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा कतिपय कमजोरीहरू भएपनि नियतमा खोट नभएकोसमेत बताएका छन् । माओवादीले सुरु गरेको सशस्त्र युद्धको अवसरमा शुभकामना दिँदै पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाली जनताको अग्रगमनका पक्षमा खुला हृदयका साथ कमजोरीको समीक्षा गर्दै अघि बढिरहेको बताएका हुन् । जनयुद्ध दिवसको अवसरमा  इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भएको शुभकामना सन्देशमा उल्लेख छ ।
‘हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौं। यो हामीले गरेको नयाँ प्रयोग हो।  राज्यको पुनःसंरचना गरियो। समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो। यो जनयुद्धकै कारण सम्भव भएको हो। यो प्रक्रियामा हामीबाट कतिपय कमजोरी पनि भए तर हाम्रो नियतमा कहिल्यै खोट थिएन। हामी यथास्थितिमा बस्न चाहेनौं। हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौं। त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौं’ शुभकामना सन्देशमा भनिएको छ।
अध्यक्ष प्रचण्डले ०५२ फागुन १ गतेलाई नेपाली जनताको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन भएको दाबी गरेका छन्। ‘२०५२ फागुन १ गते, नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन। हाम्रा लागि यो दिन नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन हो।’प्रचण्डले भनेका छन्, ‘महान जनयुद्धको यस ऐतिहासिक दिनमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु। जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै, घाइते योद्धाहरूप्रति सम्मानसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्‍यो भन्ने प्रश्न मनमा लाग्न सक्ने उनले बताएका छन्। उनले भनेका छन्, ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ। यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यो देशमा सामन्ती शोषण थियो। एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरूले जनताको भाग्यको फैसला गर्ने गर्दथे। दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायतका वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो। त्यो स्थितिमा टालटुल र सुधार गरेर समाजको आमूल रूपान्तरण सम्भव थिएन। यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको हो।’ 
व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन जनयुद्ध नभएको भए अधिकारप्रतिको जागरण, प्राप्ति र अभ्यास सम्भव नहुने उनको तर्क छ। उनले भनेका छन्,‘जनताको यही प्रतिरोधका कारण आज राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। जनताले चुनेका प्रतिनिधिहरूबाट संविधान बनेको छ र शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको छ। सिंहदरबारमा मुट्ठीभर उच्च सम्भ्रान्त वर्गका हातमा रहेको शक्ति गाउँघरमा पुगेको छ। देशमा तीन तहको सरकारको स्थापना भएको छ। राज्यसत्तामा समानुपातिक समावेशिता सुनिश्चित भएको छ। धर्मनिरपेक्षता कायम भएको छ। आज शासनका हरेक तहमा महिलाहरूको प्रतिनिधित्व अनिवार्य भएको छ। दलितहरूको उपस्थिति सम्भव भएको छ। जनयुद्ध नभएको भए यसखालको अधिकारप्रतिको जागरण, प्राप्ति र यसको अभ्यास सम्भव थिएन।’ 
उनले संघीयता अझै संस्थागत भइनसकेको जनाएका छन्। संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा रहेको प्रचण्डको भनाई छ। ‘आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौं। हाम्रा सामु जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी छ। जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा हाम्रो अगाडि छ। इतिहासले सुम्पेको यो कार्यभार पूरा गर्न सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु’ शुभकामनामा भनिएको छ।