काठमाडौं । खो खो खेल त्यति चर्चित खेल होइन । यसबारे नेपालमा यसअघि खासै चर्चा भएको पनि थिएन । तर पछिल्ला केही दिनदेखि खो खो खेलको चर्चा व्यापक छ । नहोस् पनि किन भारतमा भईरहेको पहिलो खो खो विश्वकपमा नेपालले सानदार प्रदर्शन गरिरहेको छ ।
नेपालको पुरुष र महिला टोलीले सेमिफाइनल यात्रा तय गरिसकेको छ । अझ नेपालको महिला टोलीले त अपराजित रहँदै अन्तिम चारको स्थान बनाएको हो । पुरूष टोली भने पहिलो खेलमा आयोजक भारतसँग पराजित चएपनि त्यसयता लगातार जिच हात पार्दै सेमिफाइनल पुगेको हो ।
कुनै हल्ला नगरिकन एक महिना क्लोज क्याम्प राखेर भारतको नयाँ दिल्ली पुगेको नेपाली खो खो टोलीले विश्वकपमा सन्सनी मच्चाउँदा अहिले समग्र नेपाली खेल जगतमा यसको चर्चा धेरै छ ।
खो खो विश्वकप नै पहिलो पटक भएको हो र त्यसमा नेपालको प्रदर्शन प्रशंसायोग्य छ । अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपमा यो स्तरको प्रदर्शन गरेको यो पहिलोपटक हो ।
नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनल खो खो खेलको लागि यो विश्वकप ऐतिहासिक अवसर भएको बताए । ‘खो खो खेल एउटा हराइरहेको खेल जस्तो थियो । हामी प्रयास गरिरहेका थियाैँ । अहिले विश्वकपमा नेपाली टिमले जुन किसिमले प्रदर्शन गरिरहेको छ। यसले खो खो खेल पनि रहेछ भनेर चिनाइरहेको छ’ महर्जनले नयाँ दिल्लीबाट अनलाइनखबरसँग कुराकानीमा भने, ‘नेपाली टिमको प्रदर्शनबाट खो खो खेल चिन्ने र चिनाउने अवसर मिलेको छ ।’
सेमिफाइनललाई तयार नेपाल
खो खो विश्वकप २०८१ अन्तर्गत शनिबार सेमिफाइनल खेलहरु खेल हुँदैछ । नेपालको दुवै सेमिफाइनल शनिबार हुँदैछ । आयोजक भारतसहित नेपाल र दक्षिण अफ्रिकाको दुवै टोली सेमिफाइनल पुगेका छन् । सेमिफाइनल पुग्ने अर्को दुई टोली हुन् युगान्डा र इरान ।
महिलातर्फ सेमिफाइनलमा नेपालले युगान्डासँग खेल्नेछ । यस्तै पुरूषतर्फ नेपालको भेट सेमिफाइनलमा इरानसँग हुनेछ । अर्को दुवै सेमिफाइनलमा भारत र दक्षिण अफ्रिका भिड्नेछन् । भारतको महिला र पुरूष दुवै टोली अपराजित छ ।
महिलातर्फ नेपाल र युगान्डाबीचको पहिलो सेमिफाइनल ४:३० बजे सुरु हुनेछ । युगाण्डाले न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
यस्तै पुरूषतर्फ नेपाल र इरानबीचको पहिलो सेमिफाइनल ५:४५ बजे सुरु हुनेछ । इरानले केन्यालाई हराएर सेमिफाइनल पुगेको हो ।
महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो । नेपालले क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
यसैगरी पुरूषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो । क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
महिला र पुरूष दुवैमा सेमिफाइनल जितेर फाइनल पुग्ने लक्ष्य रहेको खो खो संघका अध्यक्ष महर्जनले बताए । ‘विश्वकपमा सेमिफाइनलसम्म पुग्नु भनेको खो खो टिम मात्र नभएर सम्पूर्ण नेपालीको लागि गाैरवको कुरा हो । सेमिफाइनल जितेर फाइनलमा भारतलाई कडा टक्कर दिने हाम्रो लक्ष्य छ’ उनले भने ।
नेपाली खेलाडीहरु एकदम उत्साहित रहेको र नेपालको लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित रहेको बताए ।