झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने बताएका छन् ।
झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीका नेता-कार्यकर्तालाई सिरियाको उदाहरण दिँदै नेपालमा राजतन्त्र नफर्कने बताएका हुन् ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली भने, ‘सिरियाका शासक भागे, अनि नेपालमा चाहिँ राजतन्त्र ल्याउँछु भनेर एकथरी लागेका छन्, भएकाहरु त भाग्दैछन्, अनि फिर्ता ल्याउने निस्केका छन्। जसरी अब वि.सं. २०६५ साल इतिहासमा फर्किन सक्दैन त्यसैगरी अब राजतन्त्र पनि फर्किन सक्दैन, २०६५ सालमै राजतन्त्रको अन्त्य भइसक्यो। त्यो कुनै हालतमा सम्भव छैन। अब एउटा व्यक्तिलाई कुर्सीमा बसालेर जनता रैति हुन तयार छैन।’ पछिल्लो समय राजतन्त्र फर्काउने भनेर गरिएको हल्ला फण्डाबाजी मात्र भएको उनले बताए । उनले राजतन्त्रको नाममा अराजकता फैलाउन नहुने बताए।
एमालेका अध्यक्ष समेत रहेका ओलीले पार्टीका नेता-कार्यकर्तालाई सडकमा जुनसुकै बेलामा उत्रिन तयार रहन निर्देशन दिएका थिए । उनले भने, ‘राजनीति त बिथोलिँदो रहेछ, राजनीति त प्रतिगमनमा सजिलैसित जान सक्दो रहेछ। हामी सजक संगठित र आन्दोलनकारी हुनुपर्छ। कोठामा बसेर ठूला कुरा गर्ने जुलुसमा निस्कन नसक्ने भएपछि कसरी हुन्छ ? हामीले आन्दोलनकारी प्रवृत्ति छाड्न हुँदैन । सडकमा उत्रिन सधैं तयार हुनुपर्छ।’
उनले एमालेका विरुद्ध सबै शक्ति केन्द्रित रहेको बताए। प्रेम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रिय उपाध्यक्ष युवराज ज्ञावलीलगायतले सम्बोधन गरेका थिए ।



















































